झापा प्रहरीको प्रारम्भिक अनुसन्धान : मनिषाको खुकुरी प्रहार गरी हत्या गरिएको छैन

झापाको कनकाईमा महिलाको हत्या नभई झुन्डिएर आत्महत्या गरेको हुने सक्ने प्रारम्भिक अनुसन्धानको क्रममा देखाएको प्रहरीले जनाएको छ ।
मंगलबार बिहान कनकाई नगरपालिका-५ स्थित नारायणदल चौक निवासी ३९ वर्षीय लालबहादुर सार्की घाइते र उनकी श्रीमती ४० वर्षीया मनिषा मग्रान्ती आफ्नै कोठाभित्र मृत अवस्थामा भेटिएको थियो ।
इलाका प्रहरी कार्यालय अनारमनिका डीएसपी प्रकाश विष्टसहितको टोली बिहान साढे ७ बजे घटनास्थल पुग्दा मृतक मनिषा सोही घरको कोठाको भुईँमा मृत अवस्थामा रहेको सोही कोठाको काठको बलोमा नाइलनको सल झुन्डिएको अवस्थामा रहेको थियो । घटनाको प्रकृति हेर्दा मृतक मनिषा सलको पासो लगाई झुन्डिएको र पछीपासो खोलेको जस्तो देखिएको, मृतकको घाँटीमा सलको पासोको डाम देखिएको प्रारम्भिक अनुसन्धानको क्रममा देखिएको प्रहरीले जनाएको छ ।
अर्को कोठामा मृतकको श्रीमान् घाँटीमा धारिलो हतियार रेटी घाइते अवस्थामा फेला परेका थिए । घाइते लालबहादुरलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको छ । प्रहरीका अनुसार लालबहादुरको परिवार केही महिनाअघि मात्र त्यहाँ आएको थियो । ताप्लेजुङ सिलाम घर भई कनकाईका योगेन्द्र बस्यालको घरमा २/३ महिना अगाडीदेखि उनीहरू डेरा गरी बसेका थिए । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाइएको छ ।