२०८२ बैशाख ९ गते , मंगलबार

रुट परिवर्तन गरी गाँजा तस्करी, झापामा १६३६ किलो गाँजासहित दुई पक्राउ, दुई जना फरार

sajilo news
झापा
२०८१ चैत्र ९ गते , शनिबार
रुट परिवर्तन गरी गाँजा तस्करी, झापामा १६३६ किलो गाँजासहित दुई पक्राउ, दुई जना फरार

झापा । तस्करी समूहले रुट परिवर्तन गरी गाँजा तस्करी गरिरहेको खुलासा भएको छ । तस्कर समूहले धनकुटाबाट सुनसरी धरानको बाटो हुँदै मोरङ नाकाहरूबाट भारत पठाउँदै आइरहेको गाँजा अहिले इलामको रुट बनाएर झापाको बाटो प्रयोग गरी लैजान थालेको पाइएको छ । 
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीले शुक्रबार दिउँसो ४ः२० बजेको समयमा झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित मेची राजमार्गबाट करिब १६ सय ३६ किलो गाँजासहित दुईवटा ट्रक नियन्त्रणमा लिएपछि यस्तो खुलासा भएको हो । 
इलामबाट झापातर्फ आउँदै गरेका को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको मिनी ट्रकलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालयबाट खटिएका एसपी विक्रम होमागाईको कमान्डमा खटिएको ६ जनाको विशेष अनुगमन टोली र नम्बर २ गण झापा मातहत सुरक्षा वेश टिमाईबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्दा ५७ वटा बोरा गाँजा बरामद गरेको छ । 
सशस्त्रले ट्रकसहित दुईजना पक्राउ समेत गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटाको शहिदभूमि गाउँपालिका–४ का २८ वर्षीय महेश राई र इलाम माईजोगमाई गाउँपालिका–२ का ३७ वर्षीय गंगाबहादुर बस्नेत रहेका छन् । 
ट्रकहरूलाई नियन्त्रणमा लिने क्रममा ४ जनामध्ये दुई जना फरार भएको जनाइएको छ । पक्राउ परेकाहरूको साथबाट नेपाली ८७ हजार ८ सय ८० रुपैयाँ र ५ थान मोबाइल सेट बरामद भएको छ । पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाइसकेको जनाइएको छ । 
सुनसरी प्रहरीले सयौँ केजी गाँजासहित दर्जनौँ बढी सवारी साधन नियन्त्रणमा लिएपछि तस्कर समूहले नयाँ योजना बनाएर गाँजा तस्करी गरिरहेको स्रोतको दाबी छ ।  सोही योजना अनुरूप तस्कर समूहले धनकुटाको गाँजा इलाम हुँदै झापाबाट लगिरहेका थिए । सोही सूचना सशस्त्रले पाएपछि बाहिनीबाट खटिएका टोलीले झापामा आएर दुई ट्रकसहित ठुलो मात्रामा गाँजा बरामद गर्न सफल भएको हो ।

सम्बन्धित समाचार