२०८२ बैशाख १३ गते , शनिबार

करोडौँ रकम ठगेर बिर्तामोडका रौनियार फरार

sajilo news
झापा
२०८१ चैत्र ९ गते , शनिबार
करोडौँ रकम ठगेर बिर्तामोडका रौनियार फरार

करोडौँ रकम ठगेर भाग्ने शृङ्खलाबद्ध घटनाका क्रममा बिर्तामोडका अर्का व्यवसायी पनि ठगी गरी फरार भएका छन् । बिर्तामोड-४ स्थित एक किलोमिटरमा आफ्नै घरमा मनकामना हार्डवेयर पसल सञ्चालन गर्दै आएका विक्की रौनियार करोडौँको ठगी गरी फरार भएका हुन् ।

करिब दश दिनअघि घरमा ताला लगाएर सपरिवार बेपत्ता भएको पीडितहरूले बताएका छन् । आफूलगायत धेरै जनाको रकम ठगेर रौनियार बेपत्ता भएको गरामनीकी मनीषा शेखले बताइन् । उनले आफ्नो ३ लाख १५ हजार र आफ्नो भेना वासिफ शेखको २ लाख ८५ हजार रुपैयाँ ठगी गरेको बताइन् । उनले अन्य धेरै जनाको करोडौँ रकम ठगेर रौनियार बेपत्ता भएको जानकारी दिइन् । हार्डवेयर पसल सञ्चालन गरेको उनको घरजग्गा बैंकले लिलामी गर्न लागेको जनाइएको छ ।

रकम ठगी गरी रौनियार बेपत्ता भएको कुरा पीडितहरूले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । धेरै जनाको रकम ठगी गरी रौनियार भागेको कुरा जानकारी भएपनि प्रहरीकहाँ उजुरी नपरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । उनले रकम डुबेकाहरूले केही दिनअघि रौनियारको खाली घरमा तोडफोड गर्न जाँदा प्रहरीले रोकेको जानकारी दिए ।

बिर्तामोडका अर्का व्यवसायी रौनियार ठगी गरी भागेको कुरा आफूले सुनेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बताए । क–कसको के कति रकम डुबेको भनेर जानकारी नभएको उनले बताए ।

बिर्तामोडमा ठगी गरी भाग्ने क्रम बढ्दै गएको छ । सामान्य ठगीका घटना मात्र नभएर सुनियोजित ढंगले करोडौँ ठगी गर्ने षडयन्त्रहरू बिर्तामोडमा भइरहेको विभिन्न घटनाले पुष्टि गरेको छ । ठगी गरेर भाग्नेहरू सामान्य व्यक्तिहरू होइनन् , व्यावसायिक र सामाजिक हिसाबले गन्यमान्यहरू नै छन् । जसका कारण आर्थिक कारोबार मा सचेत हुनुपर्ने अवस्था देखिएको छ ।

बिर्तामोडमा बजाज अटो र स्कोडा कारको डिलर खोलेका हलेसी ट्रेडलिंकका प्रोप्राइटर चूडामणि पौडेल करोडौँ रकम ठगी गरी बेपत्ता भएका छन् । गत साउन २० गतेदेखि उनी अचानक परिवारसहित बेपत्ता भएका हुन् । बिर्तामोडमा प्रायः सबैले चिनेका पौडेल व्यावसायिक , सामाजिक र कलाकारिताको आडमा धेरैलाई ठगी गर्न सफल भए ।

त्यस्तै करिब दुई अर्ब रकम ठगी गरी नरेन्द्र मैनाली पनि बेपत्ता भएको महिनौँ भयो । जसका कारण बीएण्डसी अस्पतालका संस्थापक महेन्द्र प्रसाईँले झुन्डिएर आत्महत्या गर्नुपर्‍यो । ऋण र हाइड्रोपावर कम्पनीमा लगानी गरी करिब ६ करोड रुपैयाँ डुबाएपछि त्यही पिरले प्रसाईँले मैनालीको घरमै गएर भदौ ७ गते आत्महत्या गरेको खुलेको छ ।
प्रसाईंसंगै बिर्तामोड र आसपासका अन्य व्यवसायीको समेत दुई अर्ब रुपैयाँभन्दा बढी रकम लिएर फरार मैनाली काठमाडौँमा लुकेर बसेको आशङ्का गरिएको छ ।

त्यस्तै भद्रपुर रोडमा ग्लोबल बुक्स एन्ड स्टेशनरी सञ्चालन गर्दै आएका नरेश शर्मा र हेयर एन्ड डर्मा केयर (कपाल उमार्ने) अस्पतालका सञ्चालक मनोराम चिमरिया करोडौँ रकम अपचलन गरेर भागेको पीडितहरूले बताएका छन् ।

शर्माले व्यवसायीकै करोडौैं रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ भने चिमरियाले धेरैजसो मिटर ब्याज र वित्तीय संस्थाहरूबाट करोडौँ रकम लिएको बुझिएको छ । शर्मा भारतको राजस्थानतिर भागेको आशङ्का गरिएको छ । आर्थिक कारोबार बिग्रिएपछि उनीहरू सम्पर्कविहीन छन् ।शर्मा बिर्तामोडका पुराना स्टेशनरी व्यवसायी हुन् ।

त्यस्तै बिर्तामोड–२ चैतुबारी बजारमा पूजा सामग्रीको पसल सञ्चालन गर्दै आएका ३३ वर्षीय घनश्याम पौडेल करोडौँ रकम ठगेर सम्पर्कविहीन भएको करिब एक वर्ष भइसक्यो । पौडेल स्थानीयहरूको पाँच करोड रुपैयाँभन्दा बढी रकम ठगेर सम्पर्कबाहिर छन् । पौडेलविरुद्ध पीडितहरूले मुद्दा दायर गरेका छन् । तर पनि उनी एक वर्षयता भेटिएका छैनन् । ५३ जना पीडितहरूले आफूहरूको तीन करोड ७१ लाख रुपैयाँ ठगी गरेको भन्दै पौडेलले लगेको रकमको सूची नै सार्वजनिक गरेका छन् ।
त्यस्तै बिर्तामोड –५ मा व्यवसाय गरेर बसेका पङ्कज अग्रवाल पनि करोडौँ रुपैयाँ ठगेर फरार छन् । साबिक मेचीका चार जिल्लामा उनले चामलको व्यापार गरिरहेका थिए । बिर्तामोडमा व्यवसाय गरी झापा, इलाम, पाँचथर, ताप्लेजुङलगायतका क्षेत्रसम्म उनले कारोबार गरेका थिए ।

त्यस्तै बिर्तामोड–४का व्यवसायी अनिल अग्रवाल रिङ्कु पनि विभिन्न सहकारी, व्यवसायी तथा आफन्तको १० करोड रुपैयाँभन्दा बढी लिएर परिवारसहित बेपत्ता भएको वर्षौँ भइसक्यो ।

यी बाहिर आएका ठुला ठगीका केही घटना मात्र हुन् । त्यसबाहेक बिर्तामोडमा अन्य धेरै ठगीका घटना भएका छन् । जुन सार्वजनिक भएको छैन । मिटर ब्याजमा लगानी गर्ने अधिकांशको रकम डुबेको प्रहरीले जनाएको छ । छोटो समयमा करोडौँ कमाउने लालचमा एकले अर्कोलाई झुक्क्याएर ठगी गर्ने प्रवृत्ति देखिएकाले आर्थिक कारोबार मा सचेत हुनुपर्ने इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विष्ट बताउँछन् ।

सम्बन्धित समाचार