२०८३ बैशाख २३ गते , बुधबार

विराटनगरको सम्राट क्यासिनोमा दुई ‘गुण्डा’ समूहबीच कुटाकुट भएपछि....

sajilo news
मोरङ
२०८१ चैत्र ५ गते , मंगलबार
विराटनगरको सम्राट क्यासिनोमा दुई ‘गुण्डा’ समूहबीच कुटाकुट भएपछि....

विराटनगरको रत्ना होटलको सम्राट क्यासिनोमा दुई ‘गुण्डा’ समूहबीच कुटाकुट भएको छ। क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश निषेध छ। 

तर, क्यासिनो प्रवेश गरेको समूहबीच विवाद हुँदा कुटाकुट भएको हो। त्यस क्रममा अपराधिक पृष्ठभूमिका ‘गुण्डानाइके’ अभिषेक गिरी कुटिएका छन्। आइतबार राति १२ बजे क्यासिनो परिसरमा विवादास्पद पृष्ठभूमिका रोनाल कँडेल र किरण लामासँग अभिषेक गिरीसहितको समूहको कुटाकुट भएको प्रहरी स्रोतले बतायो। 

क्यासिनोभित्र गिरी थिए। उक्त क्यासिनोमा गिरीलगायतको लगानी रहेको बताइन्छ। प्रहरी स्रोतका अनुसार क्यासिनोमा प्रवेश गर्न खोजेका लामा र कँडेलसँगको विवादपछि दुई समूहबीच कुटाकुट भएको हो। कँडेलसहितले गिरीलाई गमलाले प्रहार गरेको एक प्रत्यक्षदर्शीले बताए। उनका अनुसार गिरीको टाउको फुटेको छ। 

घटनाको जानकारी पाउनसाथ प्रहरी घटनास्थल पुगेको थियो। प्रहरी पुग्दा दुबै समूह भागिसकेको थियो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले घटनाको अनुसन्धान भइरहेको बताए। उनका अनुसार आफूमाथि कुटपिट भएको भन्दै निकेश गिरीले रोनाल कँडेल र किरण लामाविरुद्ध जाहेरी दिएका छन्। निकेश अपराधिक पृष्ठभूमिका अभिषेक गिरीका भतिज हुन्। जाहेरी परेपछि प्रहरीले घटनामा संलग्नको खोजी गरिरहेको डीएसपी जोशीले बताए। 

प्रहरी स्रोतका अनुसार आइतबार राति अभिषेक गिरी रत्ना होटलको क्यासिनोमा थिए। राति करिब १२ बजे कँडेल र लामा क्यासिनोमा पुगे। बाउन्सरले उनीहरूलाई प्रवेश गर्नबाट रोके। बारम्बार भित्र छिरेर लफडा गर्ने गरेका कारण रत्नाको क्यासिनोमा उनीहरूलाई प्रवेश निषेध छ। कँडेलले क्यासिनो प्रवेश गरेर पटक–पटक झगडा गरेको विगत छ। 

बाउन्सरले दुई जनालाई रोकेकै बेला निकेश गिरी सामान लिएर क्यासिनोमा प्रवेश गर्न खोजे। उनी अभिषेकका भतिज हुन्। बाउन्सरले निकेशलाई भित्र जान दिएपछि मदिरा सेवन गरेका कँडेल र लामाले रोक्न खोजे। 

त्यसपछि ‘हामीलाई छिर्न नदिने’ ? भन्दै निकेशमाथि उनीहरूले हातपात गर्न थाले। निकेशलाई कुटपिट गरेको देखेपछि अभिषेक गिरी क्यासिनोबाट बाहिर आए। अभिषेक सधैँ ५–६ जनाको समूहमा हिँड्छन्। ‘अभिषेक बाहिर आएपछि दुई समूहबीच भनाभन भयो। पछि कुटाकुट हुन थाल्यो,’ प्रहरी स्रोतले भन्यो, ‘दुवै पक्षका घाइते छन्। तर, प्रहरी पुग्नुअघि भागे।’ प्रहरी स्रोतका अनुसार कँडेलले गमलाले गिरीको टाउकोमा प्रहार गरेका थिए।

कुटाकुटपछि गिरीको समूह लामा र कँडेललाई खोज्दै उनीहरूको घर पुगेको थियो। दुवै पक्ष मिटरब्याज र असुलीको धन्दामा संलग्न रहेको प्रहरी स्रोतले बतायो। जग्गाको कारोबार र ठेक्कापट्टामा पनि संलग्न छन्। लामा नेकपा (एमाले) मोरङको नवनिर्वाचित सदस्य हुन्। उनलाई विभिन्न घटनामा प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो। 

कँडेल पटकपटक विवादमा आइरहन्छन्। मोरङ प्रहरीको रेकर्ड अनुसार उनी यसअघि ७ पटक पक्राउ परिसकेका छन्। २०७१ सालमा उनीविरुद्ध सार्वजनिक अपराधको मुद्दा थियो। 

सम्बन्धित समाचार