२०८३ बैशाख २३ गते , बुधबार

झापामा युवा संघका कार्यकर्तामाथि खुकुरी प्रहार गर्ने खालिङ पक्राउ

sajilo news
झापा
२०८१ फाल्गुन २७ गते , मंगलबार
झापामा युवा संघका कार्यकर्तामाथि खुकुरी प्रहार गर्ने खालिङ पक्राउ

झापा । झापाको बिर्तामोडमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला इन्चार्ज खगेन्द्रराज आङ्देम्बेसहित तीनजना माथि गएराति धारिलो हतियार प्रहार गरी सांघातिक आक्रमण गरिएको छ । प्रहरीले घटनामा संलग्न खगेन्द्र खालिङ राईलाई पक्राउ गरेको छ, भने अन्य केही फरार रहेका छन् ।  घटना पश्चात् खालिङलाई बिर्तामोड नगरपालिका–२ स्थित चारपानेबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए । 
‘उनलाई प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान अघि बढाएका छौँ,’ डीएसपी खड्काले भने, ‘घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी छ ।’
सांघातिक आक्रमणबाट घाइते हुनेहरूमा युवा संघका झापा जिल्ला इन्चार्ज बिर्तामोड नगरपालिका–४ का अन्दाजी ३७ वर्षीय आङदम्बे, एमाले बिर्तामोड नगर कमिटी सदस्य तथा बिर्तामोड–९ का अन्दाजी ३५ वर्षीय विश्वदीप राजवंशी र एमालेकै कार्यकर्ता बिर्तामोड–४ का अन्दाजी ३० वर्षीय अजय खवास रहेका छन् । 
घाइतेहरूको बिएण्डसी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको छ । इन्चार्ज आङ्देम्बेको आइसियुमा र अन्य दुई जनाको अर्थोवार्डमा राखेर उपचार भइरहेको छ । आङ्देम्बेमाथि खुकुरी प्रहार भएको थियो । खुकुरीबाट उनको अनुहारमा गम्भीर चोट लागेको छ भने अन्यको हात र शरीरका विभिन्न भागमा चोट लागेको छ । 
घटना बिर्तामोड–४ स्थित कर्णाली सहकारीको कार्यालयदेखि पश्चिमपट्टि ४५ वर्षीय खगेन्द्र खालिङ बस्ने डेराको अगाडि भएको थियो । गएराति पौने १ बजेको समयमा भद्रपुर रोडस्थित दरबार रेस्टुरेन्टमा उनीहरूले सँगै खाएका थिए । त्यसपछि खगेन्द्र खालिङ र उनका भतिजा दुर्गा खालिङ कोठातर्फ लागेका थिए । 
कोठा पुगेर खालिङले आङदम्बेलाई त्यही बोलाएर हत्या गर्ने योजनाका साथ खुकुरी प्रहार गरेको बताइएको छ । पाँचथरको हिलिहाङ गाउँपालिकाको भालुचोक घर भएका खालिङले ताप्लेजुङको कावेली हाइड्रोपावरसँगको लेनदेनको विषयमा दुवै साथीबीच विवाद भई घटना घटेको जनाइएको छ ।  

सम्बन्धित समाचार