भारत १२ बर्षपछि फेरि बन्यो विश्व च्याम्पियन
भारतले १२ बर्षपछि फेरि आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि जितेको छ। भारतले तेस्रो पटक च्याम्पियन्स ट्रफी जितेको हो। आइतबार युएईको दुबई अन्तर्राष्ट्रिय रंगशालामा भएको उपाधि भिडन्तमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै भारत च्याम्पियन बनेको हो।
यसअघि भारतले सन् २०१३ र सन् २००२ मा उपाधि उचालेको थियो। आइतबार न्युजिल्यान्डले दिएको २५२ रनको लक्ष्य भारतले ६ विकेटको क्षतिमा ४९ ओभरमा पूरा गर्यो।
भारतको जितमा कप्तान तथा ओपनर रोहित शर्माले ७६ रन बनाए भने श्रेयस अय्यरले ४८ रन बनाए। केएल राहुलले नटआउट ३४ रन जोड्दा भारत विजयी भयो। बलिङमा न्युजिल्यान्डका सान्टनर र ब्रासवेलले २-२ विकेट लिन सके। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ७ विकेटको क्षतिमा २५१ रन जोड्यो।
न्युजिल्यान्डका लागि दुई ब्याटरले अर्धशतक प्रहार गरे। ड्यारेल मिचेलले १०१ बल खेलेर ६३ रन जोड्ने क्रममा ३ चौका प्रहार गर्न सके।यस्तै माइकल ब्रासवेलले नटआउट ५३ रन बनाए। उनले १० बलमा ३ चौका र २ छक्का हिर्काए।
त्यसअघि ओपनरद्वय विल योङ १५ रन र रचिन रविन्द्र ३७ रन जोडेर आउट भए। केन विलियमसन ११ रनमै पेभिलियन फर्किए भने टम लाथमले १४ रन र ग्लेन फिलिप्सले ३४ रन बनाउन सके। बलिङमा भारतका बरुण चक्रवर्ती र कुलदिप यादवले २-२ विकेट लिन सफल भए। मोहमद सामी र रवीन्द्र जडेजाको नाममा १-१ विकेट रह्यो।