२०८२ बैशाख ५ गते , शुक्रबार

महेन्द्र रत्न माविमा पुरस्कारको स्थापना, तीनजना विद्यार्थी पुरस्कृत

sajilo news
झापा
२०८१ फाल्गुन १८ गते , आईतबार
महेन्द्र रत्न माविमा पुरस्कारको स्थापना, तीनजना विद्यार्थी पुरस्कृत

महेन्द्ररत्न माध्यमिक विद्यालय बिर्तामोड–३ बिर्ताबजारका भूतपूर्व विद्यार्थी डा. लक्ष्मीप्रसाद मैनालीले आफूले अध्ययन गरेको विद्यालयका जेहेन्दार विद्यार्थीलाई वर्षेनि प्रदान गर्ने गरी पुरस्कारको स्थापना गरेका छन् ।

उनले आफ्ना दिवङ्गत हजुरबुवा रामप्रसाद मैनाली (गाउँ बुढा ), हजुरआमा विशेश्वरा मैनाली र बुवा खेमप्रसाद मैनालीको सम्झनामा राम– विशेश्वरा –खेम स्मृति पुरस्कार स्थापना गरेका हुन् । यस वर्ष स्थापना गरिएको सो पुरस्कार पहिलो पटक तीनजना जेहेन्दार विद्यार्थीहरूलाई प्रदान गरिएको छ । गणित, विज्ञान र नेपाली विषयमा उत्कृष्ट तीन विद्यार्थीलाई प्रोत्साहनका लागि पुरस्कारको व्यवस्था गर्ने डा. मैनाली भूतपूर्व विद्यार्थी समाज महेन्द्र रत्न माविका संस्थापक सदस्य हुन् । आज एक कार्यक्रमका बीच संस्थापक डा. मैनाली , उनकी श्रीमती सुमा सेढाई , दिदी विष्णु सङ्ग्रौला , भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष राजकुमार पोखरेल , विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेललगायतले सो पुरस्कार प्रदान गरेका थिए ।

त्यस अवसरमा भूतपूर्व विद्यार्थी समाजका उपाध्यक्ष मदनगोपाल सुब्बा , महासचिव मोहन सिवाकोटीलगायतका पदाधिकारी तथा सदस्यहरू , विद्यालयका शिक्षक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो । प्रधानाध्यापक खरेलले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्यसहित औचित्यमाथि संस्थापक डा. मैनालीले प्रकाश पारेका थिए भने धन्यवादसहित कार्यक्रमको समापन भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष पोखरेलले गरेका थिए ।

सम्बन्धित समाचार