इष्ट पोइन्ट स्कूल भद्रपुरले मनायो रजत जयन्ती

भद्रपुर । झापाको भद्रपुर–४ लक्ष्मीनगरस्थित इष्ट पोइन्ट इङ्लिस स्कूलले रजत जयन्ती तथा २५ औं अभिभावक दिवस विविध रचनात्मक प्रस्तुतिका साथ शनिबार मनाएको छ । विद्यालय परिसरमा आयोजित समारोहका बीच कीचकबध ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल व्यवस्थापन समितिको पूर्व अध्यक्ष, समाजसेवी दिलबहादुर थेबेले स्कूलले रजत जयन्ती तथा २५ औं अभिभावक दिवस उद्घाटन गरेका थिए ।
विद्यालयको शिक्षक अभिभावक संघकी सदस्य नानु ढंगेलको अध्यक्षतामा आयोजित समारोहलाई विद्यार्थीहरूले नै सञ्चालन गरेका थिए ।कक्षा १० का विद्यार्थीहरू गुञ्जना वन र नुमाफुङ लिम्बूले संयुक्त रुपमा सञ्चालन गरेको समारोहमा कक्षा ८ की विद्यार्थी एञ्जिला घिमिरेले स्वागत गरेकी थिइन् ।
नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीले आफ्नो प्रतिधा प्रस्तुत गरेको समारोहमा विद्यालयका सञ्चालक राजेन्द्रकुमार घिमिरेले विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापसहितको गतिविधिका बारे अभिभावकहरूलाई जानकारी गराएका थिए । उनले इष्ट पोइन्टले सैद्धान्तिक शिक्षासँगै प्रयोगात्मक, सीपयुक्त र व्यावहारिक शिक्षामा जोड दिएको बताए । सञ्चालक घिमिरेले पछिल्लो समय धेरै विद्यार्थी मोवाइललगायका विभिन्न खाले कुलतमा पर्दै गएको, अटेरी बन्दै गएको उल्लेख गर्दै अभिभावकहरूले पनि त्यस विषयमा ध्यान दिन र आफ्ना छोराछोरीमा निगरानी बढाउनुपर्ने उल्लेख गरे ।
नृत्य, गीत, नाटक, वक्तृत्वकला, एनसीसी कवाजजस्ता अतिरिक्त क्रियाकलाप प्रस्तुत गरिएको सो समारोहमा प्रमुख अतिथि थेबे, प्याब्सन भद्रपुरका अध्यक्ष भक्त कार्कीलगायतले विद्यालयले पछिल्लो समय दक्षिणी क्षेत्रका विद्यार्थीहरूलाई समेटिइरहेको र प्रगति पनि गर्दै गइरहेको उल्लेख गरे ।
अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको सोही समारोहका बीच अघिल्लो शैक्षिक सत्रमा कक्षागत रुपमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो भने खेलकुदमा उत्कृष्ट विद्यार्थीहरूलाई पनि मेडल तथा प्रमाणपत्र वितरण गरिएको प्रिन्सिपल विनय टोप्पोले जानकारी दिए । भौतिक तथा प्राविधिक रुपमा सुविधा सम्पन्न सो विद्यालयमा हाल चार सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।