जानकी मन्दिरमा हर्क साम्पाङलाई दुर्व्यवहार गर्नेमाथि कारबाहीको माग
श्रम संस्कृति पार्टीले राम जानकी मन्दिरमा पार्टी अध्यक्ष हर्क साम्पाङ तथा कार्यकर्ताहरूलाई दुर्व्यवहार गर्नेमाथि कारबाहीको माग गरेको छ । श्रम संस्कृति पार्टी झापाले आज पत्रकार सम्मेलन गरी लोकतन्त्रमा प्रत्येक नागरिकलाई आफ्नो धार्मिक आस्था र संवैधानिक अधिकार अनुसार कुनै पनि धार्मिक स्थलमा सम्मानपूर्वक दर्शन गर्न पाउने अधिकारमाथि हस्तक्षेप गर्ने, त्रास सिर्जना गर्ने तथा धार्मिक आस्थालाई झगडाको माध्यम बनाउने कार्य निन्दनीय भएको भन्दै घटनामा संलग्न व्यक्तिहरूको निष्पक्ष छानबिन गरी कानुनबमोजिम कारबाही गर्न सरकारसमक्ष माग गरेको हो ।
पार्टीका केन्द्रीय अध्यक्ष साम्पाङ मधेश प्रदेशका विभिन्न राजनीतिक तथा संगठानात्मक कार्यक्रमहरूमा सहभागी हुने क्रममा जनकपुरधामको राम जानकी मन्दिरमा माता जानकीको दर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रम रहेको थियो। त्यही क्रममा पार्टीका अध्यक्ष तथा कार्यकर्तामाथि भएको दुर्व्यवहार, त्यहाँभन्दा पहिले पार्टीका सांसद आरेन राईप्रतिको दुर्व्यवहार साथै सामाजिक सञ्जालमार्फत संविधान र कानुनलाई उल्लङ्घन गर्दै श्रम संस्कृति पार्टीका सांसदलाई काट्छु र मार्छु भनी खुल्लमखुल्ला चुनौती दिने व्यक्तिहरूप्रति श्रम संस्कृति पार्टी झापाको गम्भीर ध्यानाकर्षण भएको जिल्ला अध्यक्ष केशव भण्डारीले बताए ।
उनले त्यस किसिमका घटनाको खबरदारी गर्दै धार्मिक स्थलहरू दर्शन गर्ने क्रममा नागरिकहरूको शान्ति सुरक्षाको प्रत्याभूति सुनिश्चित गर्न सरकार संवेदनशील र जिम्मेवार बन्नुपर्नेमा जोड दिए । उनले यस घटनालाई कुनै पनि रूपमा सम्पूर्ण हिन्दु धर्मावलम्बीहरूसँग जोडेर नहेरेको भन्दै वास्तविक सनातनी हिन्दु धर्मावलम्बीहरूले यस्ता अराजक अमर्यादित व्यवहार गर्न सक्दैन भन्ने ठहर गरे ।
श्रम संस्कृति पार्टीले सनातन हिन्दु धर्मसहित नेपालका सबै धर्म, भाषा, जातजाति र संस्कृतिप्रति समान सम्मान व्यक्त गर्ने भन्दै अध्यक्ष भण्डारीले सम्पूर्ण श्रमदाता, नेता तथा कार्यकर्ताहरूलाई संयम, अनुशासन र शान्ति कायम राख्न अपिल गरेका छन् । कार्यक्रममा ससिता राई , हिमालय प्रकाश कन्दङवालगायतका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।