२०८३ बैशाख २३ गते , बुधबार

भद्रपुर झापा गोल्डकप : भुटानको डाँगा युनाइटेडलाई हराउँदै झापा ११ फाइनलमा

sajilo news
झापा
२०८१ फाल्गुन १४ गते , बुधबार
भद्रपुर झापा गोल्डकप : भुटानको डाँगा युनाइटेडलाई हराउँदै झापा ११ फाइनलमा

भद्रपुर । मोफसलको चर्चित क्लब झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।
आजको जितसँगै झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रबार खेल्नेछ । उसले कम्तीमा ७ लाख रुपैयाँ पक्का गरेको छ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा झापा ११ ले विदेशी टोली भुटानको डाँगा युनाइटेड एफसीलाई ३–१ गोल अन्तरले हराउँदै उपाधिनजिक पुगेको हो ।
९० मिनेटसम्म १–१ को बराबरीमा रहेको खेल इन्ज्युरी समयमा ३–१ अन्तरमा पुगेको थियो । घरेलु दर्शकको समर्थन रहेको झापा ११ ले खेलको ५५ औँ मिनेटमा अग्रता बनाएको थियो ।
एरोन थापाले २५ यार्डबाट प्रहार गरेको पावरफुल फ्रिकिक भुटानका गोलकिपर रूपक कोयाले पञ्च गर्न खोज्दा बलले जाली चुमेको थियो । भुटानका सुरज रसाइलीले एरोन थापालाई फाउल गर्दा झापाले फ्रिकिक पाएको थियो ।
खेलको ८४ औँ मिनेटमा भुटानका सुरज रसाइलीले गोल फर्काउँदै खेल १–१ को बराबरीमा ल्याए । रसाइलीले मैदानको मध्य भागबाट लगेको बल दुईजना डिफेन्डरलाई बिट गर्दै जाली चुमाएका थिए ।
दोस्रो हाफको अतिरिक्त समयमा रोहण कार्कीले गोल गर्दै खेल २–१ को स्थितमा पुर्‍याए । झापाका मिडफिल्डर एलन थापाको प्रहारलाई भुटानका गोल किपर रसाइलीले बल नियन्त्रणमा लिन नसक्दा बललाई कार्कीले पोस्टको दिशा दिए ।
अतिरिक्त समयमा नै हरिबहादुर आले मगरले गोल गर्दै टिमलाई ३–० को स्थितिमा पुर्‍याए । समीर तामाङको क्रस पासलाई सदुपयोग गर्दै आलेले टिमको जित पक्का गरे । खेलको दोस्रो मिनेटमा भुटानका लाक्पा पाख्रिनको प्रहार झापाका गोलकिपर सन्दीप लिम्बूले रोके । खेलको १७ औँ मिनेटमा भुटानका तुषार विश्वकर्माको प्रहार गोलकिपर लिम्बूले पञ्च गरी बचाउ गरे । खेलको १४ औँ भुटानले अग्रता लिने अवसर गुमायो । हेमराज भुजेलको पावरफुल प्रहार क्रसबारको मध्य भागमा लागेर फर्कियो । खेलको ३७ औँ मिनेटमा झापाका समीर तामाङले पेनाल्टी एरियामा चुके ।
खेलको ६८ औँ मिनेटमा झापाका बबिन बोहोराको प्रहार क्रसबार नजिकैबाट बाहिरियो । खेलको ८३ औँ मिनेटमा पेनाल्टी एरियामा झापाका समीर तामाङको क्रस पासमा एरोन थापाले गरेको प्रहार गोलकिपर रसाइलीले रोके ।
खेलको प्लेयर अफ द म्याच झापा ११ का एरोन थापा भए । उनले नगद २१ हजार र ट्रफी पाए । खेलपछि भएको पोस्टम्याच कन्फ्रेन्समा झापाका सहायक प्रशिक्षक सन्तोष गुरुङले टिमभित्र खेलाडीको प्रदर्शन निरन्तर राम्रो देखिएकोले भुटानमाथि सहज जित दर्ता गर्न सफल भएको बताए ।
झापाले बी डिभिजन लिगको तयारी गरिरहेको अवस्थामा मछिन्द्र तथा चर्च ब्वाइज जस्तो टिमलाई हराएर फाइनलमा पुग्दा खेलाडीमा आत्मविश्वास झन् बढेर गएको उनको भनाइ छ । त्यस्तै, भुटानका प्रशिक्षक दोर्जी खन्डुले आजको खेल निक्कै प्रतिस्पर्धात्मक रहे पनि गोल किपर चुक्दा हार व्यहोर्नु परेको बताए । केपी ओली कपमा समेत भाग लिएको र केही राम्रा खेलाडी त्यहाँ भएकोले आजको खेलमा केही समस्या उत्पन्न भएको उनको भनाइ छ ।
सौर्य एअर ओम साई पाथीभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताअन्तर्गत फाइनल खेल फागुन १६ गते हुने गोल्डकपका सचिव तीर्थराज ढकालले जानकारी दिए ।
गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्ने अध्यक्ष दीपेश ढकालले बताए । प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ ।
त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउने महासचिव जीवनकुमार श्रेष्ठले बताए । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।
एक जना दर्शकले महेन्द्ररत्न स्टोर बिर्तामोडका तर्फबाट एक थान हिमस्टार टिभी, एयरपोर्ट होटलका तर्फबाट एक जना दर्शकले दुई जनाको डिनर र सुनचाँदी व्यवसायी संघ भद्रपुर शाखाको तर्फबाट दुई वटा चाँदीको सिक्का पाए ।

सम्बन्धित समाचार