२०८३ बैशाख २३ गते , बुधबार

कोहलीको शतकीय पारीमा भारतले पाकिस्तानलाई ६ विकेटले हरायो

sajilo news
एजेन्सी
२०८१ फाल्गुन ११ गते , आईतबार
कोहलीको शतकीय पारीमा भारतले पाकिस्तानलाई ६ विकेटले हरायो

दुबई । भारतले पाकिस्तानलाई ६ विकेटले हराएको छ । आईसीसी च्याम्पियन्स ट्रफीमा समूह ए अन्तर्गतको दोस्रो खेलमा पाकिस्तानले प्रस्तुत गरेको २ सय ४२ रनको लक्ष्य भारतले ४२.३ ओभरमा मात्र ४ विकेटको क्षतिमा पूरा गर्याे । भारतको यो लगातार दोस्रो जित हो भने पाकिस्तानको लगातार दोस्रो हार । भारतले पहिलो खेलमा बंगलादेशलाई हराएको थियो । आयोजक पाकिस्तान भने न्युजिल्याण्डसँग स्तब्ध बनेको थियो । भारतका लागि स्टार ब्याटर विराट कोहली नायक बने। उनले नटआउट रहँदै शतक बनाए । १११ बलको सामना गर्दै कोहलीले ७ चौकाको मद्दतले १ सय रन बनाए ।
त्यस्तै, श्रेयस ऐयरले ६७ बलमा ५६ रन बनाए । उनले ५ चौका र १ छक्का प्रहार गरे । अघिल्लो खेलमा शतक बनाएका शुभमन गिल अर्धशतक बनाउनबाट चुके । उनले ५२ बलमा ४६ रन जोडे। कप्तान रोहित शर्मा २० रन बनाएर आउट भए।
पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले २ विकेट लिए भने अबरार अहमद र खुसदील शाहले १-१ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४९.४ ओभरमा सबै विकेटको क्षतिमा २ सय ४१ रन बनाएको थियो । टोलीका लागि साउद शकिलले सर्वाधिक ६२ रनको योगदान दिए । उनले ७६ बलमा ५ चौका प्रहार गरे । कप्तान मोहम्मद रिजवानले ७७ बलमा ४६ रन जोडे। उनले ३ चौका हिर्काए ।
खुसदिल शाहले ३९ बलमा ३८ रन बनाए । उनी अन्तिम ओभरमा आउट हुनअघि २ छक्का प्रहार गरे । त्यस्तै, बाबर आजमले २६ बलमा २३ रन तथा सलमान आघाले १९ रन बनाए ।
भारतका लागि कुलदीप यादवले ९ ओभर बलिङ गर्दै ४० रन खर्चेर ३ विकेट लिए । हार्दिक पाण्ड्याले २ विकेट हात पारे भने हर्षित राना, अक्षर पटेल र रवीन्द्र जडेजाको नाममा एक-एक विकेट रह्यो ।
 

सम्बन्धित समाचार