२०८३ बैशाख २३ गते , बुधबार

इङ्ल्यान्डमाथि अस्ट्रेलियाकाे कीर्तिमानी जित

sajilo news
झापा
२०८१ फाल्गुन ११ गते , आईतबार
इङ्ल्यान्डमाथि अस्ट्रेलियाकाे कीर्तिमानी जित

आईसीसी च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियाले विजयी सुरूआत गरेको छ। 

शनिबार भएको खेलमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई ५ विकेटले हराएको हो। जोश इङ्लिसको शतकीय पारीको मद्दतमा अस्ट्रेलियाले इङ्ल्यान्ड विरुद्ध कीर्तिमानी जित दर्ता गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३५१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। इङ्ल्यान्डका लागि बेन डकेटले सर्वाधिक १६५ रनको शानदार पारी खेलेका थिए। यस्तै जो रूटले ६८, जोस बट्लरले २३, जोफ्रा आर्चरले २१ रन बनाएका थिए।

बलिङतर्फ अस्ट्रेलियाका बेन ड्वारशसले ३ तथा एडम जाम्पा तथा मार्नस ल्याबुशेनले समान २ विकेट लिए। यस्तै ग्लेन म्याक्सवेलले १ विकेट लिएका थिए।

३५२ रनको लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले ४७ ओभर ३ बलमा ५ विकेटको क्षतिमा लक्ष्य भेटायो। अस्ट्रेलियाको यस जित कुनै पनि आईसीसी प्रतियोगितामा भएको हालसम्मको सर्वाधिक सफल ‘रन चेज’ हो।

अस्ट्रेलियाका लागि जोश इङ्लिसले १२० रनको शतकीय पारी खेले। यस्तै एलेक्स केरीले ६९, म्याट शर्टले ६३ तथा मार्नस ल्याबुशेनले ४७ र ग्लेन म्याक्सवेलले ३२ रनको पारी खेले।

बलिङतर्फ इङ्ल्यान्डका लियाम लिभिङस्टोन, आदिल रशीद, ब्राइडन कार्स, जोफ्रा आर्चर तथा मार्क वुडले समान १/१ विकेट लिए।

जितसँगै अस्ट्रेलिया रन रेटका आधारमा समूह ‘बी’ को दोस्रो स्थानमा छ। यो समूहमा दक्षिण अफ्रिका शीर्ष स्थानमा छ भने इङ्ल्यान्ड र अफगानिस्तान क्रमशः तेस्रो र चौथो स्थानमा छन्।

च्याम्पियन्स ट्रफीमा आज भारत र पाकिस्तानबीचको बहुप्रतीक्षित खेल हुँदै छ। उक्त खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बाट सुरू हुनेछ।

सम्बन्धित समाचार