२०८२ बैशाख ९ गते , मंगलबार

आन्दोलनमा उत्रिए बिर्तामोडका शिक्षकहरु

sajilo news
झापा
२०८१ फाल्गुन ६ गते , मंगलबार
आन्दोलनमा उत्रिए बिर्तामोडका शिक्षकहरु

बिर्तामोडका शिक्षकहरूले आफूहरूको देशव्यापी आन्दोलनका बारेमा नगरपालिकालाई ध्यानाकर्षण गराउँदै सहयोगका लागि अपिल गरेका छन् । नेपाल शिक्षक महासंघ बिर्तामोडका तर्फबाट मङ्गलवार नगर प्रमुख पवित्रा महतारा प्रसाईँ र उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलालाई ध्यानाकर्षण पत्र बुझाउँदै शिक्षा ऐन जारी गराउने उद्देश्यका साथ अघि बढेको यो आन्दोलनलाई सहयोग र समर्थन गर्न सबै शिक्षा सरोकार पक्षसँग अपिल गरेका छन् ।

शिक्षक महासंघका अध्यक्ष युवराज कट्टेल र सचिव उमानाथ भण्डारीद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भनिएको छ ‘२०८१ माघ १६ र १७ गते बसेको नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको बैठकको निर्णय अनुसार पहिलो चरणका आन्दोलनका कार्यक्रम थालनी गरेका छौँ । आन्दोलन अघि बढ्दै जाँदा आगामी चरणमा अवरोधात्मक,अवज्ञा (बहिष्कार ) र काठमाडौँ केन्द्रित सडक आन्दोलनका कार्यक्रमहरू लिएर हामी अघि बढ्नेछौँ।महासंघले गर्ने आन्दोलन विद्यालय शिक्षा ऐन जारी नभएसम्म रोकिने छैन।

आम नेपाली विद्यार्थी,शिक्षक र कर्मचारीको न्यायिक मागहरू सम्बोधन हुने गरी शिक्षा ऐन जारी गराउने उद्देश्यका साथ अघि बढेको यो आन्दोलनलाई सहयोग र समर्थन गर्न हामी विद्यार्थी ,अभिभावक ,जनप्रतिनिधिहरू तथा सबै शिक्षा सरोकार पक्षमा हार्दिक अपिल गर्दछौँ। ’ विगतमा भएका सबै सहमति सम्बोधन हुने गरी विद्यालय ,विद्यार्थी ,शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउन अब आन्दोलनमा जानु बाहेक अर्को विकल्प नरहेको स्पष्ट पारिएको छ ।

सम्बन्धित समाचार