भद्रपुर नगरपालिका पालिकास्तरीय महिला फुटबलको सेमिफाइनलमा
भद्रपुर नगरपालिका बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनल खेलमा शिवसताक्षी नगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै भद्रपुर नगरपालिका प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । स्थानीय डोमालाल राजवंशी रंगशालामा भएको खेलमा भद्रपुरको जितका लागि सुजता पालुङवाले गरेको गोल नै निर्णायक बन्यो ।

उनले पहिलो हाफको २०औँ मिनेटमा गोल गरेकी थिइन् । खेलको प्लेयर अफ दी म्याच भद्रपुरकी सुजता पालुङवा घोषित हुँदै नगद ५ हजार पाउन सफल भइन् । यससंगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । पहिलो सेमिफाइनल खेल भोलि शुक्रबार कनकाई नगरपालिका र मेचीनगर नगरपालिकाबीच हुनेछ । फागुन ५ गते हुने फाइनल खेलको विजेताले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउने छ । यस्तै, उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिता बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको हो ।