२०८३ बैशाख २३ गते , बुधबार

झापा गाउँपालिकालाई १६ गोलले हराउँदै अर्जुनधारा सेमिफाइनलमा

sajilo news
झापा
२०८१ माघ २९ गते , मंगलबार
झापा गाउँपालिकालाई १६ गोलले हराउँदै अर्जुनधारा सेमिफाइनलमा

अर्जुनधारा नगरपालिकाको टिमले अप्रत्याशित नतिजा निकाल्दै झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबलको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा झापा गाउँपालिकाको टिममाथि १६–० गोलको वर्षा गर्दै अर्जुनधाराले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । यो जितसँगै अर्जुनधाराले उपाधिमाथि दाबेदारीसमेत प्रस्तुत गरेको छ ।

एक पक्षीय खेलमा अर्जुनधाराका लागि जेनिफर मगर एक्लैले ५ गोल गरिन् । यस्तै, मेनुका मगरले पनि ह्याट्रिक पूरा गरिन् । सुरुवाती गोल जेनिफरले खेलको ६ मिनेटमै गरेकी थिइन् ।

उनले खेलको ४०औँ मिनेटसम्म ह्याट्रिक पूरा गरेकी थिइन् । दोस्रो गोल १३ मिनेटमा गरेकी जेनिफरले फेरि ३८ र ४६औँ मिनेटमा थप गोल गरेर अहिलेसम्मकै सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा नाम दर्ता गराएकी छन् । पहिलो खेलमा पनि जेनिफर एक्लैले दमक नगरपालिकाविरुद्ध ५ गोल गरेकी थिइन् । यसैगरी, मेनुकाले खेलको ११, ३५ र ५५औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन् । कुसुम खतिवडा, मञ्जलीकुमारी योञ्जन र मन्जिला योङहाङको नाममा समान २–२ गोल दर्ता भएको छ ।

अर्जुनधाराका लागि कुसुमले खेलको १७ र १९औँ, मञ्जलीले ३४ र ३६औँ तथा मन्जिलाले खेलको ४२ र ५२औँ मिनेटमा गोल गरेका हुन् । यस्तै, रेणु लिम्बूले खेलको ४५औँ मिनेटमा गोल गरेकी थिइन् भने एक गोल आत्मघातीस्वरुप उपहार मिलेको थियो ।

अर्जुनधाराकी कुसुम खतिवडा प्लेयर अफ दी म्याच बन्दै नगद ५ हजार पाउन सफल भइन् । भोलि कमल गाउँपालिकाले मेचीनगर नगरपालिकासँग तेस्रो क्वाटरफाइनल खेल खेल्नेछ । फागुन ५ गते हुने फाइनल खेलको विजेताले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउने छ । यस्तै, उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्नेछ ।

सम्बन्धित समाचार