आदर्श स्कूल बन्यो हिसान महिला भलिबल च्याम्पियन
बिर्तामोड । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) महिला भलिबल प्रतियोगिताको उपाधि आदर्श स्कुल बिर्तामोडले उचालेको छ । आज भएको फाइनल खेलमा ग्लोबल कलेज दमकलाई वेस्ट अफ फाइभको खेल ०-३ सोझो सेटले हराउँदै आदर्शले उपाधि उचालेको हो । खेलको पहिलो सेट २८-२६, दोस्रो २५-२३ र तेस्रो सेट २५-१८ मा आदर्शले जित निकालेको थियो । आदर्श स्कुल लगातार तीन वर्ष देखि हिसान छात्रा भलिबल च्याम्पियन बन्न सफल भएको छ ।
सुरुवाती खेल इकम स्कुल बिर्तामोड, गोमेन्द्र बिर्तामोड मोडल, आस्था कलेज दमकलाई २-२ को सोझो सेटमा हराउँदै आदर्श फाइनलमा पुगेको थियो । प्रतियोगितामा उत्कृष्ट स्पाइकर आदर्शकी रक्षा भट्टराई, सेटर सन्ध्या गुरुङ, प्लेयर अफ दी म्याच स्नेहा बोहोरा र म्याच अफ दी टुर्नामेन्ट आदर्शकी स्रीमन श्रेष्ठ ले जितेकी छिन् । वेस्ट कोचको उपाधि आदर्शका मिलन खजुम राई पाएका छन् । प्रतियोगितामा दोस्रो स्थान ग्लोबल र तेस्रो स्थान प्रजिता एकाडेमी भए ।

हिसान झापाका अध्यक्ष टेकनाथ भण्डारीको अध्यक्षता तथा बिर्तामोड नगर पालिका उप प्रमुख नगेन्द्र सग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हिसानका उपाध्यक्ष ख्याम भण्डारी, उत्तम खनाल, सचिव देवेन्द्र हुमागाईँ, कोषाध्यक्ष रञ्जित शाह ,प्याब्सन झापाका अध्यक्ष छत्र कार्की, वरिष्ठ उपाध्यक्ष एचके पाठक, बिर्तामोड नगर अध्यक्ष सुरेन्द्र खरेल लगायतको उपस्थिति रहेको थियो ।
सहभागीहरूले विजेता टिम र उत्कृष्ट खेलाडीहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरेको कार्यक्रम सञ्चालक तथा आदर्शका आउटरिच मेनेजर दीपक दासले जानकारी दिए । विजेता टिम र कोचलाई आदर्श स्कुलका डाइरेक्टर सन्जोग खरेलले उत्साह स्वरूप नगद ४० हजार दिने घोषणा गरेको उनले बताए ।