२०८३ बैशाख २३ गते , बुधबार

एनआरटीले उचाल्यो बुढासुब्बा गोल्डकपको उपाधि

sajilo news
सुनसरी
२०८१ माघ २७ गते , आईतबार
एनआरटीले उचाल्यो बुढासुब्बा गोल्डकपको उपाधि

धरान । युरोड टिम (एनआरटी) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २–१ ले हराएर बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।  एनआरटी तेस्रो पटक बुढासुब्बा गोल्डकप च्याम्पियन बनेको हो। यसअघि २०६४ र गत वर्ष पनि एनआरटी विजेता बनेको थियो । विजेता एनआरटीले १० लाख रुपियाँसहित ट्रफी हात पार्‍यो। उपविजेता चर्च ब्वाइजले पाँच लाख रुपियाँमा चित्त बुझायो।

धरान रङ्गशालामा भएको फाइनलमा एनआरटीका लागि विदेशी खेलाडी हेनरी एडिसे पोकोले दुवै गोल गरे। फाइनलमा अग्रता भने चर्च ब्वाइजले बनाएको थियो । खेलको २४ मिनेटमा मिडफिल्डर एरिक विष्टले मैदानको दायाँ भागबाट प्राप्त फ्रिकिकमा उपलब्ध गराइदिएको बललाई कप्तान अनन्त तामाङले हेडिङमार्फत गोल गरेर चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए।  चर्च ब्वाइजको अग्रता तीन मिनेट पनि टिकेन। खेलको २७ औँ मिनेटमा एनआरटीका हेनरीले जवाफी गोल फर्काए।

रोबर्टको कर्नर किकमा जय गुरुङले नजिकबाट प्रहार गरेको बल गोलपोस्टमा लागेर फर्केपछि हेनरीले रिबाउन्डमा गोल गरे। खेलको ५८ मिनेटमा एनआरटीका हेनरीले गरेको दोस्रो गोल निर्णायक बन्यो।

दुई गोल गर्ने हेनरी नै खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए।  यसै गरी एनआरटीकै शिशिर लेखी प्रतियोतिगाकै उत्कृष्ट खेलाडी घोषित भए। उनले एक लाख रुपियाँ पुरस्कार पाए।  

ब्वाइजका खेलाडीद्वय समीर तामाङ र अर्मान्ड विडोङ संयुक्त रूपमा सर्वाधिक गोलकर्ता घोषित  भए। उनीहरुलाई  ३५ हजार रुपियाँ पुरस्कार प्रदान गरिएको थियो। यसै गरी एनआरटीका प्रमिजय गच्छदार उत्कृष्ट गोलरक्षक, एनआरटीका हरिओम श्रेष्ठ उत्कृष्ट प्रशिक्षक, चर्च ब्वाइजका समीर उत्कृष्ट फरवार्ड, चर्च ब्वाइजका पदम भट्टराई उत्कृष्ट डिफेन्डर र चर्च ब्वाइजका रोहन कार्की उत्कृष्ट मिडफिल्डर घोषित  भए।  यी सबैले जनही २५ हजार रुपियाँ पुरस्कार प्राप्त गरे। 

सम्बन्धित समाचार