२०८२ बैशाख १६ गते , मंगलबार

डीआइजी सुवेदीले गरे झापामा सशस्त्र प्रहरीको चारवटा भवनको एकसाथ उद्घाटन

sajilo news
पार्थ मण्डल
२०८१ माघ २५ गते , शुक्रबार
डीआइजी सुवेदीले गरे झापामा सशस्त्र प्रहरीको चारवटा भवनको एकसाथ उद्घाटन

झापा । झापामा सशस्त्र प्रहरीको नवनिर्मित चार वटा कार्यालय भवनको शुक्रबार एक समारोहका बीच उद्घाटन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेटक्वाटर झापाले प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरमा आयोजना गरेको समारोहमा सशस्त्र प्रहरी बल नेपाल बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति तथा डीआइजी शम्भु सुवेदीले एकसाथ चारवटा कार्यालय तथा ब्यारेक भवनको उद्घाटन गरेका हुन् । डीआइजी सुवेदीले प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुर, काँकडभिट्टा, बोर्डर आउट पोस्ट ज्यामिरगढी र महेशपुरको नवनिर्मित भवन उद्घाटन गरे । 
उद्घाटन कार्यक्रममा बोल्दै डीआइजी सुवेदीले अन्तर्राष्ट्रिय सीमाको निगरानी र सीमावासीको सुरक्षाका लागि कोशी प्रदेशका ४८ वटा बोर्डर आउट पोस्टले ६८९.३ किलोमिटर सीमाको रक्षा गरिरहेको बताएका छन् । खुल्ला सीमाना र भौगोलिक बनावट कारण सीमा सुरक्षामा चुनौती रहेको बताउँदै डीआइजी सुवेदीले भने, ‘यति हुदाँहुदै पनि पर्याप्त कार्यादेश, सङ्गठनको मान्यता र नेपाल सरकारको निर्देशनको पालना गरी काम गरिरहेका छौँ ।’ 

बोर्डर सुरक्षाको पहिलो जिम्मा बोर्डरमा बसोबास गर्ने नागरिककै हो । सशस्त्र प्रहरीले उनीहरूसँगै समन्वय र सहकार्यमा काम गर्नुपर्ने हुन्छ । पछिल्लो समयमा सशस्त्र प्रहरीले भन्सार र राजश्व प्रशासनसँगको सहकार्य र समन्वयमा भन्सार चुहावट तथा नियन्त्रण सम्बन्धी काम गरिरहेको उनले बताए । साथै सीमावासीको सुरक्षाका निम्ति सुरक्षित सीमा, सुरक्षित जीवन नामक कार्यक्रम पनि सशस्त्र प्रहरीले सञ्चालन गरिरहेको उनको भनाई छ । 


पूर्वी नाका काँकडभिट्टामा सशस्त्र प्रहरीले मेचीनगर नगरपालिका ६ स्थित हिन्दु धर्म सनातन सेवा समितिको स्वामित्वमा रहेको विश्वनाथ शिवालय मन्दिरको धर्मशालाको भवन भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आइरहेका थिए । २०६१ कार्तिक १ गते सीमा सुरक्षा पोस्टको रुपमा स्थापित भई २०६९ कार्तिक ११ गतेदेखि राजश्व भन्सार तथा औद्योगिक सुरक्षा गुल्मको रुपमा स्तरोन्नति भई २०७७ असार २९ गते सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हे.क्वा (राजश्व तथा भन्सार गस्ती सुरक्षा) हुँदै २०७९ फागुन १८ गतेदेखि प्रस्तावित सीमा सुरक्षा गुल्मको रुपमा रहेको छ । गुल्म सञ्चालनका लागि मेचीनगर–७ गैरीगाँउमा ९ कट्ठा २ धुर जग्गा खरिद गरी १ करोड ३९ लाख ९ हजार ४२६ रुपैयाँ ५५ पैसामा एमआर कन्स्ट्रक्सन महोत्तरीसँग ठेक्का सम्झौतामा गरी नयाँ भवन निर्माण गरिएको छ । त्यस्तै भद्रपुर बोर्डर आउट पोस्ट २०७७ माघ १८ गतेदेखि भद्रपुर नगरपालिका–४ शान्तिटोल स्थित भद्रपुर सेवा समाजद्वारा निर्मित चारकोठे मलामी विश्रामालयको भवनमा स्थापना भएको थियो । 


२०७९ चैत १९ गतेदेखि प्रस्तावित सीमा सुरक्षा गुल्मको रुपमा स्तरोन्नति भएपछि भद्रपुर नगरपालिका–५ स्थित देविबस्तिमा १० कट्ठा जग्गा खरिद गरी १ करोड ३१ लाख ३७ हजार ३३३ रुपैयाँमा ठाकुर कन्स्ट्रक्सन इनरुवा सुनसरीसँग सम्झौता गरी नयाँ भवन निर्माण गरिएको  सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेटक्वाटर झापाका एसपी कवीन्द्र राईले जानकारी दिए । 
स्थानीयको माग बमोजिम बोर्डर आउट पोस्ट ज्यामिरगढी २०७७ असोज २९ गतेका दिन मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीस्थित बंशल चिया बगानको स्वामित्वमा रहेको जग्गा तथा भवनमा कार्यालय स्थापना गरिएको थियो । मेचीनगर–१५ स्थित लिम्बु डाँडामा एक बिगाहा ऐलानी जग्गा प्राप्त भएपश्चात् १ करोड १३ लाख ८१ हजार ४०३ रुपैयाँमा माङ्गमालुङ्गमा कन्स्ट्रक्सन काठमाडौँसँग सम्झौता गरी नयाँ भवन निर्माण गरिएको हो । 
त्यसैगरी बोर्डर आउट पोस्ट महेशपुर भद्रपुर नगरपालिका ३ मेचीपारीस्थित स्थानीय मायाराम महतो र कमलेश्वर महतोले ५ कट्ठा जमिन निःशुल्क उपलब्ध गराई २०७७ फागुन ९ गतेदेखि कार्यालय सञ्चालन हुँदै आइरहेकोमा सोही ठाउँमा ८१ लाख २८ हजार ५५१२ रुपैयाँमा आरएआर कन्स्ट्रक्सन काठमाडौँसँगको ठेक्का सम्झौता भई नयाँ भवन निर्माण गरिएको एसपी राईको भनाई छ । 


कार्यक्रममा बिओपी महेशपुरलाई निःशुल्क जग्गा दिने मायाराम महतो र कमलेश्वर महतोलाई दोसल्ला ओढाएर प्रशसापत्रले सम्मान गरिएको थियो । त्यसैगरी भवन निर्माण तथा जग्गा प्राप्तिमा सहयोग पु¥याउने भद्रपुर नगरपालिका, मेचीनगर नगरपालिका, सम्बन्धित वडा कार्यालयहरू, निर्माण कम्पनी र सशस्त्र प्रहरी कर्मचारीलाई समेत सम्मान गरिएको थियो । 
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, सहायक प्रमुख जिल्ला अधिकारी सुरेश आचार्य, नेपाली काँग्रेसका झापा सभापति देउमान थेबे लगायतले मन्तव्य राखेको कार्यक्रमको औचित्य तथा भवनको बारेमा प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुर डीएसपी चिरञ्जीवी प्रसाईँले जानकारी गराएका थिए । 

सम्बन्धित समाचार