२०८३ बैशाख २३ गते , बुधबार

भद्रपुर झापा गोल्डकप : मुख्य प्रायोजक सौर्य एयर तथा ओमसाई पाथीभरा हस्पिटल, ३१ लाख दिने

sajilo news
झापा
२०८१ माघ २३ गते , बुधबार
भद्रपुर झापा गोल्डकप : मुख्य प्रायोजक सौर्य एयर तथा ओमसाई पाथीभरा हस्पिटल, ३१ लाख दिने

झापा । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपको मुख्य प्रायोजक सौर्य एयरलाइन्स तथा ओमसाई पाथीभरा हस्पिटल भद्रपुर रहेको छ ।  भद्रपुरस्थित होटल एअरपोर्टको सभाहलमा ‘गम्भीर राई स्मृति संस्करण’ गोल्डकपको मुख्य प्रायोजक (टाइटल स्पोन्सर)मा गोल्डकपका अध्यक्ष दीपेश ढकाल र सौर्य एयरलाइन्स तथा ओमसाई पाथीभरा हस्पिटलका अध्यक्ष दीपककुमार पोखरेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

भद्रपुरका उद्योगी पोखरेलले मुख्य प्रायोजक बापत गोल्डकपलाई ३१ लाख रुपैयाँ दिने सम्झौता पत्रमा उल्लेख छ ।  यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी स्व.गम्भीर राईको सम्मानस्वरुप ‘गम्भीर राई स्मृति संस्करण’ सञ्चालन गर्न लागेको गोल्डकपका अध्यक्ष ढकालले बताए । 

मेची रंगशाला भद्रपुरमा यही फागुन ७ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको प्रथम पुरस्कार १३ लाख रुपैयाँ नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवम् सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष चण्डीराज ढकाल, नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक नवराज ढकाल, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका पूर्व अध्यक्ष टिकाराज ढकाल एवम् नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान उपाध्यक्ष हेमराज ढकालले आफ्ना मातापिता रामरेखा तथा लक्ष्मण ढकालको स्मृतिमा प्रदान गरेका छन् । 

त्यस्तै दोस्रो पुरस्कार ७ लाख रुपैयाँ अन्तर्राष्ट्रिय झापाली समाजले प्रदान गर्ने भएको छ । गम्भीर राईका धर्मपत्नी रेखा अधिकारी राई र उनका परिवारले समेत प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टको पुरस्कार नगद एक लाख पाँच हजार रुपैयाँ प्रदान गर्ने भएको छ । 

प्रतियोगितामा फाइनल खेलको टिकट काट्ने एकजना भाग्यशाली दर्शकलाई जगदम्बा मोटर्सले एक थान टिभिएस मोटरसाइकल र सुनचाँदी व्यवसायी संघ भद्रपुरले सुनको सिक्री उपहार स्वरुप प्रदान गर्ने भएको छ । त्यस्तै, प्रत्येक दिन टिकट काट्ने एकजना भाग्यशाली दर्शकलाई महेन्द्ररत्न स्टोर बिर्तामोडका तर्फबाट एक थान हिमस्टार टिभी र सुनचाँदी व्यवसायी संघ भद्रपुरले चाँदीको सिक्का प्रदान गर्ने अध्यक्ष ढकालको भनाई छ । 

प्रतियोगिता सम्पन्न गर्न करिब एक करोड ७८ लाख रुपैयाँ खर्च हुनेछ । रंगशालामा करिब २० हजार दर्शक बस्न सक्नेगरी स्थायी प्यारापिटको मर्मत तथा रङरोगन कार्य अन्तिम चरणमा पुगेको छ । त्यस्तै, बाँसको अस्थायी प्यारापिट निर्माण कार्य पनि धमाधम भइरहेको गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए । 

प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ । त्यस्तै, उत्कृष्ट गोल किप्पर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउने आयोजकले जनाएको छ । 

प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ । प्रतियोगितामा आयोजक भद्रपुर ब्लेजर्स, झापा ११, नेपालका विभागीयसहित ५ वटा ए डिभिजन क्लब तथा भारत, भुटान र बंगलादेशका तीन विदेशी क्लबको सहभागिता रहने महासचिव श्रेष्ठको भनाई छ । 

कार्यक्रममा सौर्य एयरलाइन्स तथा हस्पिटलका अध्यक्ष पोखरेलले आफ्नो ठाउँको विकासका लागि आफ्नै अगाडि बढ्नुपर्ने बताए । त्यही भएर भद्रपुरमा हुने प्रतियोगिताका लागि मुख्य प्रायोजन भएर सहयोग गरेको उनको भनाई छ । 

गोल्डकपको संरक्षक भद्रपुर नगर प्रमुख गणेश पोखरेलले प्रतियोगिता आयोजनाले भद्रपुर तथा दक्षिण झापामा उत्साह छाएको उल्लेख गरे । त्यस्तै उपप्रमुख राधा कार्कीले भद्रपुरको गौरवका रुपमा रहेको गोल्डकपलाई सबैले सहयोग गर्नुपर्ने बताइन् । प्रतियोगिता समन्वय गरेको झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीले गोल्डकप भव्य सफलताको शुभकामना व्यक्त गरेका थिए ।

 

सम्बन्धित समाचार