झापामा गाेली हानेर समातिएका दुई भारतीय लागूऔषध कारोबारी सार्वजनिक

झापा प्रहरीले गाेली हानेर पक्राउ गरेका दुई भारतीय लागूऔषध कारोबारीलाई सार्वजनिक गरेको छ । मंगलबार साँझ ६ः३० बजे कनकाई नगरपालिका-४ स्थित भित्री सडकखण्डमा कुमरखोदबाट सुरुङ्गातर्फ आउँदैं गरेको बीआर ३७ एए ८४९८नम्बरको भारतीय मोटरसाइकलमा लागूऔषध ओसार पसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त मोटरसाइकलमा सवार भारत डिगलबैंक थाना वडा न.–५ का बर्ष २८ का अन्जार आलम(चालक)र मोटरसाइकल पछाडी सवार उनका सहोदर भाई अन्दाजी बर्ष १९ का युसुब आलमलाई चेकजाँचको लागि रोक्न खोज्दा मोटरसाइकलको गति बढाएर चेकजाँंचमा खटिएको प्रहरीलाई ठक्कर दिई भाग्न खोजेका थिए ।
उनीहरुलाई नियन्त्रणमा लिन पेस्तोलबाट ४ (चार) राउण्ड हवाई फायर गर्दा समेत नरोकी भाग्दै गर्दा नियन्त्रणमा लिनका लागि अन्जार आलमको देब्रे घुँडामुनि एक राउण्ड गोली प्रहार गरी दुवै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले बताए ।
उनीहरुलाई चेकजाँच गर्दा अन्जार आलमको साथबाट प्लाष्टिकसहित ३२ ग्राम ७५० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो । घाइते अन्जार आलमकाे प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको र सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको डीएसपी चन्दले जानकारी दिए ।