२०८१ माघ २७ गते , आईतबार

झापा गाउँपालिकाका २९१ विद्यार्थीले पाए साइकल

sajilo news
झापा
२०८१ माघ ११ गते , शुक्रबार
झापा गाउँपालिकाका २९१ विद्यार्थीले पाए साइकल

झापा गाउँपालिकाले कक्षा ९ मा अध्ययनरत २९१ विद्यार्थीहरूलाई साइकल वितरण गरेको छ । गाउँपालिकाले शुक्रबार एक कार्यक्रमका बीच सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ का छात्रछात्रालाई साईकल वितरण गरेको हो । पालिकाले चालु आर्थिक वर्षको शिक्षामा विनियोजन गरिएको  १२ लाख रुपैयाँको बजेट मार्फत २९१ साइकल टेन्डर प्रक्रियामार्फत खरिद गरिएको जनाइएको छ । डिल्लीराज माविका ७७ जना, जनता माविका १४० जना, जनकल्याण माविका ४२ जना ,कुवाडी माविका १३ जना र महेन्द्र माविका १९ जना छात्रछात्राले साइकल पाएका छन् । 

शिक्षा शाखाको आयोजनामा भएको कार्यक्रममा बोल्दै पालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले कोही पनि विद्यार्थीले उच्च शिक्षाको लागि विद्यालय जानबाट वञ्चित नहोस् भनेर झापा गाउँपालिकाका पाँच वटा माध्यमिक विद्यालयका विद्यार्थीलाई साइकल उपलब्ध गराएको बताइन् ।  झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले अगाडि बढाउनु भएको शिक्षा ,स्वास्थ्य जस्ता कुरालाई निरन्तरता दिने बताउँदै थपलियाले शिक्षामा सुधार ल्याउन कक्षा ८ देखी १० सम्मका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई कोचिङको व्यवस्था समेत मिलाइएको जानकारी दिइन् । 

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले शिक्षामा ३ करोड रकमभन्दा बढी लगानी गाउँपालिकाले गरेको बताए । साइकल वितरण गर्न थालेपछि विद्यालयमा छात्राहरूको सङ्ख्या बढ्दै गएकोले कार्यक्रम फलदायी बन्दै गएको र विद्यार्थीले साइकल सदुपयोग गरे नगरेको अनुगमन गर्ने समेत गर्ने उनले बताए । 

साइकल वितरण कार्यक्रममा वडा ७ का अध्यक्ष सखीचन्द्र मण्डल, शिक्षा समिति सदस्य एवं शिक्षक महासंघ अध्यक्ष जगन्नाथ राजवंशी, शिक्षक महासङका सचिव टीका प्रसाद कट्टेल साइकल प्राप्त गर्ने विद्यार्थी जनता माविका राजेश खड्का र कुवाडीदेवी माविकी रोजिना घोर्षानी लगायतले मन्तव्य राखेका थिए। कर्मचारी अम्बिका गौतमले स्वागत राखेकी कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख जीवन ढकाल गरेका थिए । बहुसङ्ख्यक मुस्लिम ,आदिवासी , विपन्न परिवारको बसोबास रहेको झापा गाउँपालिकामा १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क शिक्षा तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति समेत दिँदै आएको छ ।

सम्बन्धित समाचार