महोत्सवमा पत्रकार राजवंशीलाई हातपात गर्ने दुईजना पक्राउ
पत्रकार मदन राजवंशीलाई हातपात गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको गौरीगञ्जमा सञ्चालन भइरहेको आदिवासी जनजाति महोत्सवको साङ्गीतिक कार्यक्रममा स्थानीय पत्रकार राजवंशीलाई हातपात गर्ने गौरादह- ६ निवासी सन्तोष कार्की र गौरीगञ्ज-६ निवासी एकराज चौलागाई पक्राउ परेका छन् ।
केही दिनअघि साना किसान सहकारी संस्थाकी ऋण उपसंयोजक नुना चौलागाईले नियम विपरीत ऋण लिएको विषयमा गौरीगञ्ज दर्पणका सम्पादक राजवंशीले समाचार लेखेका थिए । सो विषयमा नुना चौलागाईका छोरा एकराज चौलागाईले आफ्नी आमाको बारेमा त्यस्तो समाचार किन लेखेको भन्दै पत्रकार राजवंशीसँग सोधपुछ गरेका थिए । राजवंशीले त्यस विषयमा पछि गरौला भनेपछि सामान्य विवाद भएर हात हालाहालको स्थिति भएको थियो । त्यसपछि प्रहरीले भिडभाडलाई नियन्त्रणमा लिएर तितरबितर पारेको थियो ।
गौरीगञ्ज दर्पणका सम्पादक राजवंशीले आफूमाथि हातपात गर्न खोज्ने विरुद्ध इलाका प्रहरी कार्यालय गौरीगञ्जमा ठाडो निवेदन दिएका थिए । पत्रकार राजवंशीले एकदिन राखेर भोलि छलफल गर्ने भनेपछि आज छलफल हुन सकेन । ती दुवैलाई आज इलाका प्रहरी कार्यालय गौरीगञ्जमै राखिएको छ । भोलि दुईपक्षीय छलफल गरेर दुवैलाई छोड्ने बताइएको छ ।
गएराति १०.३० बजे अनलाइनमार्फत साङ्गीतिक कार्यक्रमको प्रत्यक्ष प्रसारण सकेर महोत्सवको गेटबाट बाहिर निस्कने क्रममा पत्रकार राजवंशीसँग विवाद भएको थियो । पत्रकार राजवंशीमाथि भएको हमलाका दोषीलाई पक्राउ गरी कारबाही गर्न नेपाल प्रेस युनियन र प्रेस चौतारीजस्ता सङ्गठनहरूले विज्ञप्ति जारी गरेका छन् । गौरीगञ्जमा आयोजित आदिवासी जनजाति महोत्सवमा राति गायिका मेलिना राईको प्रस्तुति रहेको थियो । गायिका मेलिनाले गीत गाइरहँदा उच्छृङ्खल व्यक्तिले बाहिरबाट ढुङ्गा हानेको बताइएको छ ।