२०८१ माघ २७ गते , आईतबार

भीषण आगलागीले आक्रान्त लस एन्जलस, हजारौँ भौतिक संरचना ध्वस्त

sajilo news
एजेन्सी
२०८१ माघ १ गते , मंगलबार
भीषण आगलागीले आक्रान्त लस एन्जलस, हजारौँ भौतिक संरचना ध्वस्त

वासिंटन । अमेरिकाको लस एन्जलसमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुगेको छ । लस एन्जलसका स्वास्थ्य अधिकारीहरूले मृतकको संख्या २४ पुगेको पुष्टि गरेका हुन् । यसअघि १६ जना बेपत्ता रहेका जानकारी दिइएको थियो । क्यालिफोर्नियाका मौसमविद्हरूले अझै पनि तीव्र हावा चल्ने र त्यसबाट आगलागी झनै फैलिनसक्ने चेतावनी दिएका छन् ।अग्निनियन्त्रकले आगो निभाउने प्रयास जारी राखेका छन् । आगलागीमा परी हजारौं भवनहरू ध्वस्त भएका छन् । ठूलो संख्यामा जनावर पनि मरेका छन् ।

आगलागी नियन्त्रण गर्न गरिरहेका अनेकौं प्रयासका बाबजुद आगो नियन्त्रण हुनुको साटो फैलिइरहेको छ । आगो यति भीषण रूपमा फैलिएको छ कि लस एन्जलसमा मात्रै हजारौं घर तथा भौतिक संरचना ध्वस्त बनिसकेका छन् । मौसमी अवस्था र जलवायु परिवर्तनका कारण आगो थप फैलिने आशंका गरिएको छ । करिब दुई लाख मानिसलाई आगलागी प्रभावित क्षेत्रबाट अन्यत्र सारिएको छ । दर्जनौं हलिउड स्टारसहित धनाढ्य मानिसहरूको बसोबास रहेका कैयौं क्षेत्रहरू खाली गराइएकाले लुटपाट हुनसक्ने भन्दै अधिकारीले चेतावनी जारी गरेका छन् ।

विस्थापितलाई घर फर्काउन कम्तीमा बिहीबारसम्म लाग्ने

लस एन्जलसमा लागेको भीषण डढेलो र आगलागीका कारण आफ्नो घरबाट विस्थापित भएका दशौं हजार मानिस कम्तीमा चार दिनसम्म घर फर्कन नसक्ने अधिकारीले बताएका छन् । आगलागीमा परी मृत्यु हुनेको संख्या यो समाचार तयार पार्दासम्म २४ पुगेको छ भने विस्थापितको संख्या करिब एक लाखको हाराहारीमा रहेको छ । यस पहिले करिब एक लाख ८० हजारभन्दा बढी व्यक्ति विस्थापित भएकोमा कम जोखिम रहेका क्षेत्रमा मानिस फर्किसकेका छन् ।

पलिसेड्स फायर र इटन फायरको बीचमा बन्द गरिएको खतरा क्षेत्रमा प्रवेश गर्ने आशामा निराश विस्थापितहरूले चेक प्वाइन्टहरूमा लाइनहरू बनाएका छन् । धेरैजना घर फर्कन आतुर छन् किनकि उनीहरूले केही क्षणको सूचना पाएर औषधि वा लुगाफाटामात्रै लिएर घर छोडेका थिए । कतिपय घरमा छुटेका वृद्ध तथा अशक्त परिवारका सदस्यको अवस्थाबारे जानकारी पाउन उत्सुक छन् ।

लस एन्जलस काउन्टीका अग्नि नियन्त्रक एन्थोनी मारोनले भन्नुभएको छ, ‘यस हप्ता हावाहुरीको पूर्वानुमानले आगलागीको आपत्कालीन अवस्था अझै सकिएको छैन । उहाँले पत्रकार सम्मेलनमा भन्नुभयोे, उनीहरू घर जान सक्दैनन्, किनभने अझै बस्तीहरू सुरक्षित छैनन् ।’ उहाँले भन्नुभयो, ‘जतिसक्दो चाँडो बासिन्दालाई उनीहरूको घरमा फिर्ता ल्याउनु हाम्रो सामूहिक प्राथमिकता हो । बुधबारसम्म चल्ने तीव्र बतासलाई संकेत गर्दै उहाँले भन्नुभयोे, यो कुराकानी अनुमानित रेड फ्ल्याग इभेन्टको अन्त्यसम्म हुने छैन । कृपया निश्चिन्त हुनुहोस् । बिहीबार हामी पुनरुत्थानको बारेमा कुरा सुरु गर्नेछौं ।’

गत हप्ता एक लाख ८० हजारको हाराहारीमा रहेका अग्नि नियन्त्रक क्षेत्रमा करिब एक लाख मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आदेश दिइएको छ । डढेलोको चपेटामा परेका क्षेत्रहरू तहसनहस भएका छन्, पूरै सडकहरू खरानीमय बनेका छन् र पूर्वाधारहरू नराम्ररी ध्वस्त भएका छन् । लस एन्जलस काउन्टीका शेरिफ रोबर्ट लुनाले जोखिमको सम्भावनालाई संकेत गर्दै आफू मातहतका प्रहरी अधिकारीले मानिसहरूलाई डढेलो र आगलागी क्षेत्रबाट बाहिर राख्न निर्देशन दिएको बताउनुभयो । उहाँले भन्नुभयोे ‘यी मध्ये धेरै क्षेत्रहरू अझै पनि भग्नावशेषकै अवस्थामा रहेका छन् । विद्युत् बगिरहेका बिजुलीका तार, ग्यांस लाइन र अन्य खतराका कारण बस्तीमा प्रवेश सहज छैन ।’

आगो फैलिनुका कारण

यो सुक्खा मौसमको समय हो । जसका कारण लस एन्जलस वरपरका पहाडी क्षेत्रको जंगलमा रहेका रूख बिरुवा सुकेका छन् । यही समयमा आएको तीव्र गतिको हावासँगै आगो लाग्दा सिंगो जंगल नष्ट भएको छ । जंगलबाट फैलिएको आगो शहरी इलाकामा प्रवेश गरेपछि ठूलो क्षति हुन पुगेको हो । अब यो आगो कसरी फैलियो भन्नेबारेमा चाहिँ अधिकारीहरूले अनुसन्धान गरिरहेका छन् । क्यालिफोर्नियाको फायर सर्भिसका बटालियन प्रमुख डेभिड एक्युनाका अनुसार यो क्षेत्रमा करिब ९५ प्रतिशत आगो स्थानीय मानिसले नै लगाएका हुन्छन् । तीव्र हावा र वर्षाको कमी आगलागीको मुख्य कारण बनिरहेको छ । जलवायु परिवर्तनले यो अवस्थालाई झनै जटिल बनाएको छ । अमेरिकी सरकारको अनुसन्धान अनुसार पश्चिमी अमरिकामा ठूलो मात्रामा जंगलमा आगो लाग्ने घटना जलवायु परिवर्तनसँग सम्बन्धित छन् । बढ्दो गर्मी, लामो समयसम्म सुक्खा हुने र पानी नपर्नेजस्ता समस्याले क्यालिफोर्नियाजस्ता राज्य असुरक्षित बन्दै गएका छन् ।

अमेरिकामा खासगरी अक्टोबरसम्मका महिनामा बढी आगलागीका घटना हुन्छन् । तर, पछिल्लो समयमा वर्षभरी नै यस्ता समस्याहरू देखिन थालेका छन् । पेलिसेड्स क्षेत्रमा पछिल्लो ३० वर्षमा जनवरी महिनामा भएको यो तेस्रो ठूलो आगलागीको घटना हो । यो आगलागीको अर्को प्रमुख कारण भनेको ‘सेन्टा एना’ हावा पनि हो । जुन हावा जमिनबाट समुद्री तटतर्फ बहने गर्छ । एक सय किलोमिटर प्रतिघण्टाको गतिमा चल्ने यो हावा पनि आगो फैलिनुको प्रमुख कारक हो । सेन्टा एना हावा अमेरिकाको पूर्वी या उत्तर–पूर्वी दिशाबाट तटीय क्षेत्रमा बहन्छ । वर्षमा दुईदेखि चार पटकसम्म चल्ने यो सेन्टा एना हावा आमरूपमा सेप्टेम्बरदेखि मे महिनासम्म चल्छ । केही दिन वा हप्तासम्म निरन्तर पनि हावा चल्न सक्छ । यसपटक पनि यो हावा ६० देखि एक सय माइल प्रतिघण्टाको दरले चलिरहेको छ । एजेन्सीको सहयोगमा ।

 

सम्बन्धित समाचार