२०८३ बैशाख २३ गते , बुधबार

सभामुख घिमिरेद्वारा मेची रंगशाला अवलोकन, सहयोग गर्ने आश्वासन

sajilo news
झापा
२०८१ पौष २७ गते , शनिबार
सभामुख घिमिरेद्वारा मेची रंगशाला अवलोकन, सहयोग गर्ने आश्वासन

भद्रपुर ।  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले झापाको सदरमुकाम भद्रपुरमा रहेको सरकारी स्वामित्वको मेची रंगशालाको अवलोकन–निरीक्षण गरेका छन् । विभिन्न कार्यक्रममा सहभागिताका लागि गृह जिल्ला झापामा रहेका घिमिरेले शुक्रबार अपराह्न मेची रंगशालाको अवलोकन–निरीक्षण गर्दै सर्वपक्षीय अवस्थाको बारेमा जानकारी लिएका हुन् ।  सभामुख घिमिरेलाई भद्रपुर झापा गोल्डकपको सचिवालयमा गोल्डकपका अध्यक्ष दीपेश ढकाल, उपाध्यक्ष पूर्व प्रदेशसभा सदस्य वसन्त बानियाँ, महासचिव जीवनकुमार श्रेष्ठ, भद्रपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष बन्धु कार्कीलगायतले स्वागत गरेका थिए ।

सो क्रममा गोल्डकपका अध्यक्ष ढकालले सभामुख घिमिरेलाई भद्रपुर झापा गोल्डकपको आसन्न दोस्रो संस्करणको तयारी र मेची रंगशालामा आवश्यक पूर्वाधारका बारेमा जानकारी गराउँदै सहयोगका लागि आग्रह गरेका थिए । हाललाई रंगशालामा थप प्यारापिट र रात्रिकालीन प्रतियोगितासमेत गराउन सक्ने गरीको फ्लड लाइटको व्यवस्थाका लागि सभामुख घिमिरेलाई आग्रह गरिएको अध्यक्ष ढकालले बताए । सोक्रममा सभामुख घिमिरेले मेची रंगशाला भद्रपुरको मात्र नभई झापाकै ऐतिहासिक र महत्त्वपूर्ण सम्पत्ति भएकोले यसको संरक्षण र विकास सम्पूर्ण झापावासीको भएको उल्लेख गर्दै सहयोगका लागि आफ्नो तर्फबाट पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गरे । ‘यो रंगशालाको विकास आवश्यक छ, तपाईँहरू काठमाडौँ आउनुस्, कस–कसलाई के–के भन्नुपर्छ, त्यसका लागि म तयार छु’, घिमिरेले भने– ‘सरोकारवाला निकायहरूलाई घचघच्याइरहनुपर्छ, केही न केही भइहाल्छ ।’

सो अवसरमा सभामुख घिमिरेलाई गोल्डकपका तर्फबाट अध्यक्ष ढकालले मायाको चिनोस्वरुप गोल्डकपको लोगाअंकित टी–सर्ट प्रदान गरेका थिए । यसैबीच भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करणको तयारीलाई तीव्र बनाइएको महासचिव श्रेष्ठले जानकारी दिए । आगामी फागुन ७ देखि १६ सम्म मेची रंगशालामै सम्पन्न हुने प्रतियोगिताको तयारीस्वरुप मैदान स्तरोन्नतिको काम भइरहेको छ भने प्रचार–प्रसारलाई पनि अघि बढाइएको छ । यस वर्षको प्रतियोगिता पूर्व राष्ट्रिय खेलाडी गम्भीर राईको संस्मरणमा हुने अध्यक्ष ढकालले जनाए । त्यस्तै, भद्रपुरका उद्यमी दीपक पोखरेल अध्यक्ष रहेको सौर्य एयरलाइन्स तथा ओम साई पाथीभरा हस्पिटल प्रतियोगिताको मुख्य प्रायोजक रहनेछ । प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश, भुटानका स्तरीय क्लबहरूको सहभागिता रहने गोल्डकपका वरिष्ठ उपाध्यक्ष एवम् टिम व्यवस्थापन समितिका संयोजक आदित्य पराजुलीले बताए ।   

 

सम्बन्धित समाचार