पूर्वनगर प्रमुख शिवाकोटीविरुद्ध झापा अदालतमा अभियोग पत्र दायर
घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटीविरुद्ध झापा जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको छ ।
सरकारी वकिलको कार्यालय झापाले शिवाकोटीलाई आज अदालतमा उपस्थित गराई अभियोग पत्र दायर गरेको हो । सरकारी वकिलको कार्यालयका तर्फबाट शिवाकोटीविरुद्ध जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरिएको जिल्ला न्यायाधिवक्ता रुद्र आचार्यले बताए । अभियोग पत्र दर्ता भइसकेको बताउँदै जिल्ला अदालतका स्रेस्तेदार किरणकुमार सिंहले भोलि शनिवार बिदा परेकाले आइतबार आरोपितसँग बयान लिएर थुनछेक बहस शुरु गरिने जानकारी दिए ।
बीएण्डसी अस्पतालमा रहेकै बेला शिवाकोटीसँगको बयान लिएर प्रहरीले अनुसन्धान पूरा गरेको थियो । आफूहरूले मुद्दा सरकारी वकिलको कार्यालयलाई बुधवार बुझाइसकेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।
घरेलु कामदारको रूपमा राखिएकी नाबालिकालाई करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ परेकै दिनदेखि बीएण्डसी अस्पतालमा राखेको छ । स्वास्थ्यमा समस्या भएको देखिएपछि शिवाकोटीलाई अस्पतालमा भर्ना गरिएको थियो । प्रहरीले उनलाई गत मङ्सिर २४ गते पक्राउ गरेको थियो ।