आईसीसी एकदिवसीय क्रिकेटर वर्ष खेलाडीको मनोनयन सार्वजनिक
ईसीसीले एकदिवसीय क्रिकेटर वर्ष खेलाडीको अवार्डको मनोनयन सार्वजनिक गरेको छ। मनोनयनमा श्रीलंकाका दुई र अफगानिस्तानका एक खेलाडी परेका छन्।
यो वर्ष २६ विकेट लिएका वानिन्दु हसरंगासँगै कुशल मेन्डिस मनोनयनमा पर्ने श्रीलंकन खेलाडी हुन्। कुशलले यो वर्ष ६ विपक्षी टोलीविरुद्ध अर्धशतक बनाएका थिए। ५० भन्दा मथिको औषतमा वर्षभर क्रिकेट खेलेका कुशलले न्युजिल्यान्डविरुद्ध शतक प्रहार गरेका थिए। उनले न्युजिल्यान्डविरुद्ध एक सय २८ बलमा एक सय ४३ रन प्रहार गरेका थिए।
अफगनिस्तानका अजमतुल्लाह उमरजाईले वर्षका १२ इनिङ्समा चार सय १७ रन बनाए। उनको प्रदर्शन उत्कृष्ट रह्यो। उमरजाईले एक सय १५ बलमा बनाएको अविजित एक सय ४९ रनले राम्रै चर्चा कमाएको थियो।

शेरफन रुदरर्फडले एकदिवसीय क्रिकेटमा यो वर्ष चार सय २५ रन बनाए। उनले श्रीलंकाविरुद्ध लगातार तीन अर्धशतक प्रहार गरेका थिए। वेस्टइन्डिज पराजित भए पनि उनले सानदार प्रदर्शन गरे। बंगलादेशले दिएको दुई सय ९५ रन चेज गर्ने क्रममा शेरफनले ८० बलमा एक सय १३ रन बनाएर आफ्नो टोलीलाई सहज अवस्थामा पुर्याएका थिए।
यस्तै, महिलातर्फको एकदिवसीय वर्ष क्रिकेटरमा अष्ट्रेलियन, दक्षिण अफ्रिका, भारत र श्रीलंकाका एक(एक खेलाडी मनोनयनमा परेका छन्। यो वर्ष दक्षिण अफ्रिकाकी लाउरा उल्भार्टले १२ इनिङ्समा ६ सय ९७ रन बनाइन्। श्रीलंकाकी चमारी अथापथ्रूले ९ इनिङमा चार सय ५८ रन बनाइन्। उनले दक्षिण अफ्रिकाविरुद्ध एक सय ९५ रन बनाएर आफ्नो टोलीलाई जित दिलाएकी थिइन्।
भारतकी स्मृति मन्धनाले यो वर्ष सात सय ४३ रन बनाउँदा एक विकेट पनि लिइन्। अलराउन्डर मन्धनाले होम सिरिजमा दक्षिण अफ्रिकाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। वर्षमा तीन सय ६९ रन बनाएकी कंगारु टिमकी एन्नाबेल साउदरल्यान्ड पनि वर्ष उत्कृष्ट क्रिकेटरको मनोनयममा पर्न सफल भएकी छिन्।