भिनिसियस जुनियर र एइटाना बोनमतीलाई फिफा बेस्ट अवार्ड
ब्राजिल तथा रियल मड्रिडका फरवार्ड भिनिसियस जुनियर फिफा बेस्ट अवार्ड अन्तर्गत पुरुषतर्फ उत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन्। भिनिसियसले पहिलो पटक फिफा बेस्ट अवार्ड जितेका हुन्।कतारको दोहामा आयोजित समारोहमा गए राति पुरस्कार प्रदान गरिएको हो। २४ वर्षीय भिनिसियस पुरस्कार समारोहमा उपस्थित थिए।
यसअघि म्यानचेस्टर सिटीका रोड्री विजयी भएपछि रियल मड्रिडले बलोन डी ओर समारोह बहिष्कार गरेको थियो। रियल मड्रिड अहिले अन्तरमहादेशीय कपको फाइनलका लागि दोहामै छ।
सन् २०२३–२०२४ को सिजनमा रियलले च्याम्पियन्स लिग र ला लिगा उपाधि जित्दा भिनिसियसले महत्त्वपूर्ण भूमिका निभाएका थिए। उनले ३९ खेलमा २४ गोल र ११ असिस्ट गरेका थिए। योमध्ये च्याम्पियन्स लिग फाइनलमा बोरुसिया डर्टमन्डविरुद्ध भिनिसियले गरेको गोल निर्णायक थियो । भिनिसियसले सिटी तथा स्पेनिस मिडफिल्डर रोड्री र रियलका टिम मेट इंग्ल्यान्डका जुड बेलिङगमलाई पछि पार्दै अवार्ड जितेका हुन्।
भिनिसियसले ब्राजिलको साओ गान्काले सडकमा खाली खुट्टाले फुटबल खेल्दा असम्भव लाग्ने अवार्ड अहिले आफ्नो हातमा रहेको प्रतिक्रिया दिएका छन्।
यस्तै फिफा बेस्ट अन्तर्गत रियल मड्रिडका कार्लोस एन्सेलोटी उत्कृष्ट प्रशिक्षक बने। उनले स्पेनिस जायन्टलाई च्याम्पियन्स लिग र ला लिगा उपाधिका लागि नेतृत्व गरेका थिए।
प्रतिस्पर्धामा पेप ग्वार्डिवाला, लियोनल स्कालनी, जाभी अलन्सो पनि थिए। ६५ वर्षिय इटालियनले यो अवार्ड जितेको पहिलो पटक हो।
उत्कृष्ट गोलका लागि प्रदान गरिने पुस्कास अवार्ड म्यानचेस्टर युनाइटेडका अलेहान्द्रो गारान्चोले प्राप्त गरे। २०२३ नोभेम्बरमा एभर्टनलाई ३-० ले हराउँदा उनले गरेको बाइसाइकल किक उत्कृष्ट गोल घोषित भएको हो।
अर्जेन्टिनाका एमिलियानो मार्टिनेज वर्षको उत्कृष्ट गोलकिपर बने। टिम अफ द इयरमा सन्नयास लिइसकेका टोनी क्रुज सहित पाँच रियल मड्रिड र एक बार्सिलोनाका खेलाडी परेका थिए। प्रिमियर लिगका पाँच खेलाडीले यसमा स्थान बनाए।
यसैगरी महिलातर्फ स्पेन तथा बार्सिलोनाकी एइटाना बोनमतीले लगातार दोस्रो वर्ष अवार्ड हात पारिन्।
२६ वर्षीया बोनमटीको उत्कृष्ट प्रदर्शनको मद्दतमा स्पेनले २०२३ मा महिला विश्वकप उपाधि जितेको थियो। प्रतियोगितामा उनले गोल्डेन बल अवार्ड जितेकी थिइन्। उनी २०२३ र २०२४ को बलोन डी ओर विजेता पनि हुन्। उनले जाम्बियाकी बारब्रा बान्डा र टिम मेट क्यारेलिन ग्राहमलाई पछि पारेकी हुन्।
अघिल्लो सिजन उनले क्लबका लागि लिगा एफ, च्याम्पियन्स लिग, सुपरकोपा र कोपा डेल रे जितेकी थिइन्। चारै प्रतिस्पर्धामा बोनमटीले करियर बेस्ट १९ गोल गरेकी थिइन् । अहिलेसम्म बार्सिलोनाबाटै व्यावसायिक फुटबल खेलिरहेकी बोनमटीको आफ्नो सफलताको श्रेय क्लब र टिम मेटलाई दिइन्।
महिलातर्फ सिकागो रेड स्टारकी अमेरिकी अलिसा नेहरले उत्कृष्ट गोलकिपर अवार्ड जितेकी छिन्। अमेरिकी टिमकी एम्मा हायस उत्कृष्ट प्रशिक्षक बनिन्। उनले यसै वर्ष भएको पेरिस ओलम्पिकमा अमेरिकालाई स्वर्ण पदक दिलाएकी थिइन्।
गत सिजन चेल्सिलाई वुमन्स सुपर लिग उपाधि जिताउँदै अमेरिकी टिमको नेतृत्व सम्हाल्न पुगेकी थिइन्। एम्माले २०२१ पछि दोस्रो पटक यो अवार्ड हात पारेकी हुन्।
यो वर्षबाट महिलातर्फ पनि उत्कृष्ट गोलका लागि मार्टा अवार्ड सुरूआत गरिएको छ। पहिलो संस्करणको अवार्ड स्वयं ब्राजिलकी लेजेन्ड मार्टाले नै जितेकी छिन्। गत जुनमा जमैकासँग गरेको गोलका लागि मार्टाले अवार्ड प्राप्त गरेकी हुन्।