नेपाल महिला यू–१९ एशिया कपको ‘सुपर फोर’मा
मलेशियामा जारी महिला यू–१९ एशिया कपमा नेपाल र भारतबीचको आजको खेल वर्षाका कारण रद्द भएको छ। खेल रद्द भएसँगै दुवै देशले १/१ अंक बाँडेका छन्। दुवैको ३/३ अंक भए पनि रनरेटका आधारमा भारत समूह ‘ए’ को विजेता तथा नेपाल उपविजेता बनेको छ। दुवै देश ‘सुपर फोर’मा प्रवेश गरेका छन्।
यही समूहमा रहेको पाकिस्तान दुवै खेलमा पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएको छ। ‘सुपर फोर’मा नेपालले अब बिहीवार श्रीलंकासँग र शुक्रवार बंगलादेशसँग खेल्नेछ।मलेशियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनायो।
जितका लागि ९५ रनको लक्ष्य पछ्याउने क्रममा भारतले ३ ओभर १ बलमा बिना कुनै विकेट २८ रन बनाउँदा वर्षाका कारण खेल रद्द भएको थियो। यसअघि नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २५ रन बनाइन्। उनले ४० बल खेल्ने क्रममा ३ चौका प्रहार गरिन्।
एलिशाकुमारी यादवले अविजित २० रन बनाइन्। साना प्रवीनले ९, सोनी पाख्रिनले ८, ज्योत्स्निका मरासिनीले ६, सावित्री धामी र रचनाकुमारी चौधरीले ३र३ तथा अनु कडायत र कुसुम गोदारले १र१ रनको योगदान दिए।बलिङतर्फ भारतकी पारुनिका सिसोदियाले सर्वाधिक ४ विकेट लिइन्। आनन्दिता किशोर र मिथिला विनोदले १र१ विकेट लिए। यसअघि नेपालले पहिलो खेलमा सोमवार पाकिस्तानलाई ६ विकेटले पराजित गरेको थियो।