दुर्गा प्रसाईं जमानतमा रिहा भएलगत्तै फेरि पक्राउ
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा भएलगत्तै प्रहरीले फेरि पक्राउ गरेको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले आज दिएको आदेशअनुसार साइबर अपराधमा ४० हजार धरौटी बुझाएर निस्किनासाथ उनी अदालत परिसरबाट फेरि पक्राउ परेका हुन्।
आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको हुनाले उनलाई फेरि पक्राउ गरिएको प्रहरीले बताएको छ।उनलाई पक्राउ गरेर प्रहरीले गाडीमा हालेपछि अदालतमा जम्मा भएका समर्थकले सरकारमाथि प्रश्न गर्दै प्रसाईंको समर्थनमा नाराबाजीसमेत गरेका थिए। हिजो मात्रै प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ विपरीतको कसुर गरेको आरोपमा जिल्ला अदालत काठमाडौँमा अर्को मुद्दा दर्ता भएको छ।
विद्युतीय कारोबार ऐनविपरीतको कसुरको मुद्दा अदालतसम्म पुगे पनि प्रसाईंमाथि आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जाँच गरिरहेको छ।
विभिन्न आपराधिक समूहका नाममा व्यक्तिहरु परिचालन गरी धाकधम्की दिएर पैसा असुल गर्ने र ज्यान मार्न सुपारी दिने गरेको सन्दर्भमा पर्याप्त प्रमाणहरु फेला परेकाले अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ।
कम्बोडियामा प्रधानमन्त्री केपी शर्मा ओलीको अर्बौं लगानी रहेको अप्रमाणित आरोप प्रसाईंले लगाएपछि मंसिर ४ गते प्रहरीले भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो।