२०८३ बैशाख २३ गते , बुधबार

बिर्तामोडका पूर्व नगरप्रमुख शिवाकोटीलाई हदैसम्मको कारबाही गर्न चार महिला संगठनको माग

sajilo news
झापा
२०८१ मंसीर २५ गते , मंगलबार
बिर्तामोडका पूर्व नगरप्रमुख शिवाकोटीलाई हदैसम्मको कारबाही गर्न चार महिला संगठनको माग

घरेलु कामदारको रुपमा राखिएकी १७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटीमाथि चार वटा महिला संगठनहरुले हदैसम्मको कारबाहीको माग गरेका छन् ।

बलात्कारजस्तो जघन्य अपराधमा पक्राउ परेका एमाले झापा जिल्ला सदस्य समेत रहेका  शिवाकोटीलाई जोगाउने षडयन्त्र भइरहेको भन्दै विभिन्न राजनीतिक दलनिकट महिला संगठनहरुले प्रेस विज्ञप्तिमार्फत प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका हुन् । ‘लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान र त्यससम्बन्धी विषयमा विभिन्न छलफल र गोष्ठीहरू चलिरहेकै बेला एउटा राज्यको स्थानीय सरकारको समेत नेतृत्व गरिसकेका व्यक्ति यस्तो हर्कतमा उत्रिनु अत्यन्तै निन्दनीय कार्य भएको र सम्पूर्ण नगरबासीले शिर निहुराउनु पर्ने अवस्था सिर्जना भएको छ ’ विज्ञप्तिमा भनिएको छ ,‘मानवीय मूल्य र मान्यता विपरीत गरिएको यस्तो जघन्य अपराधमा संलग्न बिर्तामोडका शिवाकोटीलाई हदैसम्मको कारबाही गरियोस् भनी जोडदार माग गर्दछौँ ।’

उनीहरूले पहुँचको आधारमा दोषीले उन्मुक्ति पाउने कार्य गरे कडा प्रतिकारमा उत्रन बाध्य हुने चेतावनी दिएका छन् । साथै पीडित बालिकाको स्वास्थ्य अवस्था चेकजाँच गरी उनको प्रभावकारी उपचारका साथै जीउ ज्यानको आवश्यक सुरक्षा व्यवस्था गर्न मागसमेत गरेका छन् । अनेम संघ (क्रान्तिकारी) झापाकी अध्यक्ष तारा श्रेष्ठ, अनेम संघ (समाजवादी) झापाकी अध्यक्ष हरिमाया मैनाली , राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन झापाकी सचिव शिखा खड्का (गणेश) र अनेम संघ (क्रान्तिकारी )झापाकी अध्यक्ष दिलकुमारी सीले संयुक्त रुपमा विज्ञप्ति जारी गरेका हुन् ।

सम्बन्धित समाचार