एनपीएलकाे विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने
एनपीएलका विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ । एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने जानकारी गराइएको हो।
प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।
त्रिवि क्रिकेट मैदानमा शनिबार उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ। सिंगल राउन्ड रोबिनका आधारमा हुने एनपीएलमा लिग चरणमा कुल २८ खेल हुनेछ। लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन्। जहाँ पहिलो र दोस्रो हुने टिमबीच पहिलो क्वालिफायर खेल हुनेछ। यस खेलको विजेताले सीधै फाइनलमा स्थान बनाउनेछ भने तेस्रो र चौथो हुने टोलीले एलिमिनेटर खेल खेल्नेछन्।
एलिमिनेटरमा पराजित हुने टोली बाहिरिँदा एलिमिनेटरको विजेता र पहिलो क्वालिफायरको पराजित टोलीबीच दोस्रो क्वालिफायर खेल हुनेछ। यसको विजेताले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। एनपीएलको फाइनल खेल पुस ६ गते हुनेछ।