२०८१ मंसीर २१ गते , शुक्रबार

शिवसताक्षी नगरपालिका खुदुनाबारी गोल्डकपको फाइनलमा

sajilo news
झापा
२०८१ मंसीर २ गते , आईतबार
शिवसताक्षी नगरपालिका खुदुनाबारी गोल्डकपको फाइनलमा

अर्जुनधारा । शिवसताक्षी नगरपालिका चौथो खुदुनाबारी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । अर्जुनधारा–३ खुदुनाबारीस्थित कैदले प्राकृतिक रंंगशालामा जारी प्रतियोगिताको आज भएको पहिलो सेमिफाइनलमा बिर्तामोड नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै शिवसताक्षी फाइनलमा प्रवेश गरेको हो ।

शिवसताक्षीको जितमा मिलन राई नायक बने । उनले टिमका लागि २ गोल गरे । राईले खेलको २६ औं मिनेटमा डी–एरियामा बिर्तामोडका गोलरक्षक अविशेक चौधरीले फल्ड गरेपछि पाएको पेनाल्टी प्रहारलाई गोल पोस्ट भित्रबाट जाली चुमाउँदै टिमलाई पहिलो अग्रता दिलाए । उनले खेलको ६१ औं मिनेटमा दोस्रो गोल गरेका थिए । २–० गोल अन्तरले पछि परेको बिर्तामोडका लागि ६३ औं मिनेटमा श्याम मुर्मुले एक गोल गर्दै २–१ गोलको अन्तर बनाए । सुरुवातबाट नै आक्रामक बनेको खेलमा बिर्तामोडले गोल गर्ने थुर्पै अवसर पाए पनि स्कोर गर्न नसक्दा पराजय भोग्यो ।

शिवसताक्षीलाई फाइनलमा पुर्‍याउन २ गोल गरेका मिलन राई खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले नगद ५ हजार र ट्रफि पुरस्कार पाए । उनलाई अर्जुनधाराका नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङ, शिवसताक्षीका नगरप्रमुख मेगाहाङ थोप्रा (रोशन), प्रतियोगिताका संयोजक सिताराम भट्टराई, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगीरथ आले लगायतले पुरस्कार प्रदान गरे ।

शिवसताक्षीले उपाधिका लागि भोली हुने दोस्रो सेमिफाइनलको विजेतासँग मङ्सिर ५ गते फाइनलमा प्रतिस्पर्धा गर्ने छ । गोल्डकपको दोस्रो सेमिफाइनलमा भोली भद्रपुर नगरपालिका र मेचीनगर नगरपालिका बिच खेल हुने छ । प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार २ सय ११ रुपैयाँ र उपविजेताले नगद ५५ हजार ६ सय ५५ रुपैयाँसहित ट्रफी तथा मेडल पुरस्कार पाउने छ ।

सम्बन्धित समाचार