२०८१ मंसीर २१ गते , शुक्रबार

भद्रपुर नगरपालिका खुदुनाबारी गोल्डकपको सेमिफाइनलमा

sajilo news
झापा
२०८१ मंसीर १ गते , शनिबार
भद्रपुर नगरपालिका खुदुनाबारी गोल्डकपको सेमिफाइनलमा

भद्रपुर नगरपालिका चौथो खुदुनाबारी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा दमक नगरपालिकालाई टाईब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै भद्रपुर नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयमा २–२ गोलको बराबरीमा खेल सकिएपछि टाईब्रेकरबाट नतिजा निकालिएको हो । बराबरी भएको खेलमा भद्रपुरका लागि ७ औं मिनेटमा विकास राईले पहिलो र ४४ औं मिनेटमा प्रदीप बुढाथोकीले दोस्रो गोल गरे । दमकका लागि सञ्जय धिमालले २० औं मिनेटमा पहिलो र किस्मत लिम्बूले ४२ औं मिनेटमा दोस्रो गोल गरेका थिए ।

टाईब्रेकरमा भद्रपुरका सञ्जय लिम्बू, उद्देश कामती, प्रदीप बुढाथोकी, विकास राई र रजिन सुब्बाले गोल गरे ।दमकका लागि गौरव धिमाल, रोशन धिमाल र रोशन तामाङले गोल गरे । आशिष् लावतीले गरेको प्रहार गोलपोष्टमा ठोक्किएर फर्कँदा दमकले पराजय भोग्यो ।

आजको खेलमा भद्रपुरका प्रदेश टुडू ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले नगद ५ हजार र ट्रफी पाए । उनलाई भद्रपुरका नगर प्रमुख गणेश पोखरेल, प्रतियोगिताका संयोजक सिताराम भट्टराईलगायतले पुरस्कार प्रदान गरे ।

गोल्डकपको फाइनल खेल मङ्सिर ५ गते हुने छ । प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार २ सय ११ रुपैयाँ र उपविजेताले नगद ५५ हजार ६ सय ५५ रुपैयाँसहित ट्रफी तथा मेडल पुरस्कार पाउने छन् । भोलि हुने पहिलो सेमिफाइनलमा बिर्तामोड र शिवसताक्षी नगरपालिकाले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।

सम्बन्धित समाचार