२०८३ बैशाख २३ गते , बुधबार

गौरादहलाई हराउँदै बिर्तामोड खुदुनाबारी गोल्डकपको सेमिफाइनलमा

sajilo news
झापा
२०८१ कार्तिक ३० गते , शुक्रबार
गौरादहलाई हराउँदै बिर्तामोड खुदुनाबारी गोल्डकपको सेमिफाइनलमा

 

अर्जुनधारा । बिर्तामोड नगरपालिका झापाको खुदुनाबारीमा जारी चौथो खुदुनाबारी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा गौरादह नगरपालिकालाई ५–० गोल अन्तरले पराजित गर्दै बिर्तामोडले सेमिफाइनल यात्रा तय गरेको हो ।

बिर्तामोडको जितमा श्याम मुर्मु नायक बने । उनले खेलमा ह्याट्रिक पुरा गरे । मुर्मुले खेलको २१ औं मिनेटमा आशिष् चापागाईँले प्रहार गरेको फ्री–किकलाई हेड मार्फत गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाएको थिए । उनले पहिलो हाफको अतिरिक्त समयमा दोस्रो गोल गरे । खेलको ४७ औं मिनेटमा थप एक गोल गर्दै मुर्मुले ह्याट्रिक पुरा गरे ।

बिर्तामोडका लागि सनम भुजेल र सुजन लिम्बूले थप एक–एक गोलको योगदान दिए । पहिलो हाफको अतिरिक्त समयमा डी–एरिया नजिकैबाट भुजेलले प्रहार गरेको फ्री–किकले जाली चुमेको थियो । लिम्बूले खेलको ६१ औं मिनेटमा टिमका लागि ५ औं गोल गरेका थिए । अर्जुनधारा–३ को कैदले प्राकृतिक रङ्गशालामा भएको खेलमा गौरादहले भने स्कोर गर्न नसक्दा ५–० गोलको पराजय भोग्यो । पहिलो हाफमा ३–० गोल अन्तरलेपछि परेको गौरादहले दोस्रो आफमा सुधारिएको प्रदर्शन गर्न नसक्दा थप २ गोल खायो ।

आजको खेलमा ह्याट्रिक गरेका बिर्तामोडका मुर्मु ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले नगद ५ हजार र ट्रफि पुरस्कार पाए । उनलाई बिर्तामोडका नगर उपप्रमुख नगेन्द्र सङ्ग्रौला, प्रतियोगिताका संयोजक सिताराम भट्टराई, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगीरथ आले मामा र नगर खेलकुद विकास समिति अर्जुनधाराका अध्यक्ष सुरेन्द्र धिमालले पुरस्कार प्रदान गरे ।

गोल्डकपको भोली हुने चौंंथो क्वाटरफाइनलमा दमक नगरपालिका र भद्रपुर नगरपालिकाबिच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ । गोल्डकपलाई अर्जुनधारा नगरपालिकाको १, २ र ३ नम्बर वडाले संयुक्त रुपमा आयोजना गरेको हो । गोल्डकपको फाइनल खेल मङ्सिर ५ गते हुने छ । प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार २ सय ११ रुपैयाँ र उपविजेताले नगद ५५ हजार ६ सय ५५ रुपैयाँसहित ट्रफी तथा मेडल पुरस्कार पाउने छ ।

प्रतियोगिताको वेस्ट स्कोरर, वेस्ट डिफेन्डर, वेस्ट कोच, वेस्ट फरवार्ड, वेस्ट गोलरक्षकले जनही ७ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । त्यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचलाई ५ हजार प्रदान गरिने छ ।

सम्बन्धित समाचार