२०८३ बैशाख २३ गते , बुधबार

नेपालले कुवेतलाई १६५ रनले हरायो, पूजा महतोको कीर्तिमानी शतक

sajilo news
झापा
२०८१ कार्तिक २७ गते , मंगलबार
नेपालले कुवेतलाई १६५ रनले हरायो, पूजा महतोको कीर्तिमानी शतक

आईसीसी अन्डर नाइन्टिन महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई १ सय ६५ रनले पराजित गरेको छ । नेपालले दिएको २ सय १४ रनको चुनौती पछ्याएको कुवेत १३ ओभरमा १० विकेट गुमाउँदै ४८ रनमा समेटियो । कुवेतकी जिफा जिलानीले सर्वाधिक ३६ रन जोडिन्। सात खेलाडी शून्यमा आउट भए। 

नेपालकी कप्तान पूजा महतोले सर्वाधिक ५ विकेट लिइन्। सीमा केसी र रचना चौधरीले समान २/२ विकेट लिए।  यूएईस्थित सेभेन्स डिस्ट्रिक स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय १३ रन बनाएको थियो । नेपालका लागि कप्तान पूजा महतोले शतकीय पारी खेल्दै १ सय ३० रनमा अविजित रहिन्। 

६९ बल खेलेकी उनले १७ वटा चौका हिर्काएकी थिइन्। सोनी पाख्रिनले आउट नभइ ४३ रन जोडिन् । यसअघि सावित्री धामी ११ र साना प्रविन ६ रनमा आउट भएका थिए। 

पहिलो खेलमा नेपालले कुवेतलाई १०८ रनले हराएको थियो। यसअघि आइतबार भएको खेलमा नेपालले थाइल्याण्डलाई १ सय ६ रनको विशाल अन्तरले पराजित गरेको थियो । प्रतियोगितामा नेपालसहित घरेलु टोली यूएई, थाइल्यान्ड र कुवेत सहभागी छन् । 

सहभागी चार टोलीमध्ये डबल राउन्ड रोविनका आधारमा शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी यू–१९ महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ । नेपालले अन्तिम खेल बिहीबार यूएईसँग खेल्नेछ । 

सम्बन्धित समाचार