२०८१ मंसीर २१ गते , शुक्रबार

गायकीलाई निखार्दै उदीयमान कलाकार अनुराधा

sajilo news
झापा
२०८१ कार्तिक २३ गते , शुक्रबार
गायकीलाई निखार्दै उदीयमान कलाकार अनुराधा

उदीयमान कलाकार अनुराधा राजवंशीले स्टेजमा आफ्नो पर्फमेन्स देखाएको पाँच वर्ष भयो । उनले आफ्नो कलालाई निखार्दै लगेकी छन् ।नेपाल मधेसी समाज सेवा समितिले हिजो साँझ बिर्तामोड–३ बिर्ताबजारमा आयोजना गरेको छठ पूजा समारोह तथा सांस्कृतिक कार्यक्रममा उनको प्रस्तुतिलाई धेरै दर्शकले रुचाएका थिए । उनी लाइभ स्टेज शोमा खास गरी भजन र गजल गाउने गर्छिन् । आफूहरूले विराटनगरबाट मगाएको कलाकार अनुराधाको प्रस्तुति राम्रो रहेको नेपाल मधेसी समाज सेवा समितिका अध्यक्ष रामेश्वर मण्डलले बताए ।

मोरङ जहदा– ३ की २२ वर्षीया अनुराधालाई स्टेज भजन , पार्टी प्रोग्रामका लागि आयोजकहरूले बढी बोलाउँछन् । भारतको फार्विसगञ्जदेखि लिएर नेपालको सिराहा, सप्तरीसम्म गएर आफूले प्रस्तुति देखाएको उनले बताइन् । आफ्नै एल्बम निकाल्ने सोच बनाएकी उनले केही एल्बममा गीत गाएकी छन् । ‘भोजपुरी र मैथिली भाषाको एल्बममा मैले गाएकी छु , अरू एल्बमहरूमा पनि अफरहरू आइरहेका छन्’ उनले भनिन्,‘आफ्नै एल्बम निकाल्ने सोच राखेकी छु ।’

उनी महेन्द्र मोरङ क्याम्पस विराटनगरमा बीबीएस पहिलो वर्षमा अध्ययनरत छिन् । परिवार र समुदायको सहयोग पाइरहेको बताउने अनुराधा कलाकारिता र अध्ययनलाई सँगसँगै अगाडि बढाउने आफ्नो योजना रहेको सुनाउँछिन् ।

सम्बन्धित समाचार