बिर्तामोडका विद्यालयमा एक महिनाभन्दा बढी लामो चाडपर्व बिदा
विद्यार्थीहरूको पढाई बिग्रिने गरी झापाको बिर्तामोड नगरपालिकाले एक महिनाभन्दा बढी लामो दसैँ बिदा दिएको छ । असोज १७ गते घटस्थापनाका दिनदेखि छठ पर्व सकिएको दुई दिनपछि कात्तिक २५ गते विद्यालय लगाउने गरी नगरपालिकाले ३७ दिन लामो बिदा दिएको हो । जसबाट विद्यार्थीहरूको पढाई बिग्रिने भएको छ भने शिक्षकहरूले सबै चाडबाड आनन्दले मनाउन पाउने भएका छन् ।
हिउँदे र बर्खे बिदा कट्टा गरेर एक महिने दसैँ बिदा दिइएको बिर्तामोड नगरपालिका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले बताए । उनले प्याव्सन , एन प्याव्सन, शिक्षक महासंघलगायतका संघ संगठनको सल्लाह अनुसार नै सो बिदा पारित गरिएको जानकारी दिए । लामो समयसम्मको बिदा दिँदा पढाई बिग्रिने भएकाले नचाहदा नचाहँदै बिदा दिनु परेको नगरपालिकाका एक अधिकृतले बताए ।
विद्यालयहरूले आ–आफ्नो शैक्षिक क्यालेन्डरमा एक महिने बिदा उल्लेख गरेका थिएनन् । शैक्षिक क्यालेन्डरमा उल्लेख नगरिएको बिदा दिन नमिल्ने भन्दै बिर्तामोडका केही संस्थागत विद्यालयहरूले नगरपालिकाको त्यस निर्णयलाई नमान्ने भएका छन् ।