स्थानीय तहले अवस्था हेरेर विद्यालय खोल्न निर्णय लिनसक्ने
सरकारले देशभर वर्षासँगै बाढीपहिरोबाट क्षति पुगेपछि देशभरका शैक्षिक संस्थामा आइतवारदेखि ३ दिन बिदा दिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शैक्षिक संस्थामा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढीपहिरोको चपेटामा परेको, यातायात अवरूद्ध भएको र दैनिक जीवनयापनमा कठिनाइ भएपछि यस्तो निर्णय हो।
तर बाढीपहिराेले विद्यालय बन्द र परीक्षासमेत सरेपछि विद्यार्थी र अभिभावकहरूलाई चिन्ता थपिएकाे छ। दशैँ नजिकिँदै गर्दा सामुदायिक र निजी विद्यालयहरूमा परीक्षा भइरहेको थियो। तर यी सबै परीक्षाहरू पनि रोकिएको छ। विश्वविद्यालय, चिकित्सा शिक्षा आयोगलगायतका परीक्षाहरू पनि रोकिएका छन्।
अभिभावकहरू भने ती परीक्षाहरू सकिएपछि दशैँ मनाउन गाउँ जाने तयारीमा थिए तर परीक्षा सञ्चालनमा समेत ढिलाइ हुने देखिएको छ। केही ठाउँमा बाढीले विद्यालयमा क्षति पुगेको छ।
शिक्षा मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले तीन दिनसम्म शैक्षिक संस्था बन्द गरिएको र त्यसपछि अवस्था हेरेर विद्यालय र परीक्षा सञ्चालन गर्न सकिने जानकारी दिए। यसका लागि सम्बन्धित स्थानीय तहहरूले निर्णय लिनुपर्नेछ।
उनले भने, ‘अब कहिलेबाट र कसरी परीक्षा लिने भन्ने स्थानीय तहले निर्णय गर्नुपर्छ, अवस्था हेरेर विद्यालय सञ्चालन गर्न सकिने अवस्था भए त्यहीका स्थानीय तहहरूले निर्णय गरेर उक्त अनुमति दिन पाउने छन्।’ बाढीपहिरोबाट के-कति विद्यालयमा क्षति पुग्याे भनी विवरण माग गरिएको उनले जानकारी दिए।
नेपाल प्रहरीका अनुसार बिहीवारदेखि लगातार परेको वर्षाका कारण बाढीपहिरो र डुबानमा हालसम्म १४८ जनाको मृत्यु र ५५ जना बेपत्ता भएका छन्। १०१ जना घाइते भएका छन्।