पेरिस ओलम्पिकमा अमेरिका शीर्षमा रहँदा १२६ देशले खातै खोल्न सकेनन्
पेरिस ओलम्पिक २०२४ अन्तर्गत १२औंं दिन सकिँदा अमेरिका २७ स्वर्ण पदकसहित शीर्ष स्थानमा कायम छ। अमेरिकाले हालसम्म २७ स्वर्ण ३५ रजत र ३२ कास्यसहित कुल ९४ पदक जितेको छ। शीर्षस्थानका लागि कडा दिएको चीनले २५ स्वर्ण २३ रजत र १७ कास्यसहित कुल ६५ पदक जितेको छ।
तेस्रो स्थानमा यथावत् अस्ट्रेलियाको नाममा १८ स्वर्ण १२ रजत र ११ कास्यसहित कुल ४१ पदक छ। आयोजक फ्रान्सले १३ स्वर्णसहित कुल ५१ पटक हात पारेको छ। १२ स्वर्ण १७ रजत र २० कास्य जितेको ग्रेट ब्रिटेन पाँचौं स्थानमा छ। दक्षिण कोरिया, जापान र इटाली क्रमशः छैठौं, सातौ र आठौं स्थानमा यथावत् छन्।
पेरिस ओलम्पिक २०२४ मा बुधबारसम्म सहभागी २ सय ६ मध्ये ५३ देशले कम्तिमा १ स्वर्ण पदक जितेका छन् भने ८० देशले पदकको खाता खोलेका छन्।
प्रतियोगिता अन्तर्गत आज थप १२ स्वर्णसहित २७ पदकका लागि प्रतिस्पर्धा हुने छ। जारी ओलम्पिकमा ३२ खेलमा ३ सय २९ पदकका लागि २ सय ६ देशका १० हजार ७ सय १४ खेलाडी मैदानमा उत्रिएका छन्। खेलको समापन आगामी आइतबार हुनेछ।