काँकडभिट्टा खानेपानीको अध्यक्षमा बुढाथोकी निर्वाचित
काँकडभिट्टा । काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा रोहित बुढाथोकी निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणनाको अन्तिम नतिजा अनुसार लोकतान्त्रिक साझा प्यानलका उम्मेदवार रोहित बुढाथोकी १९९१ मतसहित अध्यक्षमा विजयी भएका हुन् । उनले प्रगतिशील समाजवादी प्यानलका सन्तोष आचार्यलाई १८३ मतले हराएका हुन् । आचार्यले १८०८मत पाएका छन् । त्यस्तै अध्यक्षका अर्का प्रत्याशी सुदर्शन खड्काले ३४६ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा प्रगतिशील समाजवादी प्यानलका गोविन्द गिरी २२६६ मतसहित निर्वाचित हुँदा उनका प्रत्याशी लोकतान्त्रिक साझा प्यानलका राजु दाहालले १२१९ मत पाएका छन् । जुन १०४३ मतान्तर हो । सोही पदका अर्का उम्मेदवार कृष्ण सुवेदीले ६३० मत ल्याएका छन् । त्यस्तै सचिव पदमा लोकतान्त्रिकका विशाल तामाङ १७४५ मत ल्याई निर्वाचित भएका छन् । उनले ८२ मतान्तरले प्रगतिशील प्यानलका दिलीप सुब्बालाई हराएका हुन् । सचिवका अर्का प्रत्याशी नरेन्द्र सिवाकोटीले ५९८ मत पाएका छन् ।
त्यस्तै कोषाध्यक्षमा प्रगतिशील प्यानलकी विमला तामाङ २०६५ मत ल्याई निर्वाचित हुँदा उनका प्रत्याशी लोकतान्त्रिक प्यानलकी विमला देवकोटाले १४६३मत ल्याएकी छन् । जुन ६०२ मतको अन्तर हो । कोषाध्यक्ष पदकै अर्की उम्मेदवार सुधादेवी खड्काले ३९८ मत ल्याएकी छन् ।
जम्मा १२ वटा पदमध्ये लोकतान्त्रिक प्यानलले अध्यक्ष र सचिवसहित चार वटा पद जितेको छ भने प्रगतिशील प्यानलले उपाध्यक्ष र कोषाध्यक्षसहित आठ वटा पद जितेको छ । निर्वाचनमा काँग्रेस नेतृत्वमा लोकतान्त्रिक साझा प्यानल, एमालेको नेतृत्वमा प्रगतिशील समाजवादी प्यानल र राष्ट्रिय स्वतन्त्र पार्टीको स्वतन्त्र उम्मेदवार समूह गरी तीन वटा प्यानल प्रतिस्पर्धामा रहेका थिए ।