२०८३ असार ३ गते , बुधबार

बाह्रदशी जेसीजद्वारा १७ जना विद्यार्थीको अभिभावकत्व ग्रहण

sajilo news
झापा
२०८१ जेष्ठ २५ गते , शुक्रबार
बाह्रदशी जेसीजद्वारा १७ जना विद्यार्थीको अभिभावकत्व ग्रहण

बाह्रदशी  । बाह्रदशी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत १७ जना विद्यार्थीलाई बाह्रदशी जेसीजले अभिभावकत्व ग्रहण गरेको छ ।
जेसीजको दिगो विकास कार्यक्रम अन्तरगत विद्यार्थीको सम्पूर्ण खर्च बेहोर्ने गरी जेसीजले यस वर्ष १७ जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको हो । यो सँगै विद्यार्थीलाई विद्यालय पोसाक सहित आवश्यक पर्ने स्टेसनरी सामग्री,  जुत्ता मोजा समेत प्रदान गरेको छ ।
विद्यार्थीलाई वर्षभरि पुग्ने कपी, पेन्सिल,डटपेन सहितका शैक्षिक सामग्रीसँगै स्कुल ब्याग समेत प्रदान गरिएको छ ।
बाह्रदशी गाउँपालिकाका अध्यक्ष देविन्द्रप्रसाद चम्लगाई,उपाध्यक्ष शान्तादेवी शिवाकोटी खरेल, प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौला लगायतको सहभागितामा गाउँपालिकामा आयोजित कार्यक्रमकाबीच जेसीजले १६ वटा सामुदायिक विद्यालयमा अध्ययनरत १७ जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको हो ।
बाह्रदशी जेसीजका अध्यक्ष खगेन्द्र सुवेदीको अध्यक्षता र गाउँपालिका अध्यक्ष चम्लगाईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच विद्यार्थीलाई नगद सहित स्टेसनरीसामग्री, स्कुल ब्याग प्रदान गर्दै अभिभावकत्व ग्रहण गरिएको घोषणा गरिएको थियो ।
गाउँपालिका भित्र रहेका हरेक एक/एक वटा सामुदायिक विद्यालयबाट एक÷ एक जना विद्यार्थीलाई छनोट गर्दै बाह्रदशी जेसीजले अभिभावकत्व ग्रहण गरेको हो ।
विपन्न समुदायका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र उनीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न बाह्रदशी जेसीजले गत वर्षबाट यो कार्यक्रम सञ्चालन गरेको छ । सोही कार्यक्रमलाई निरन्तरता दिँदै यस बर्षपनि कार्यक्रम सञ्चालन गरिएको बाह्रदशी जेसीजका अध्यक्ष सुवेदीले बताए ।
जेसीजले अभिभावकत्व ग्रहण गरेका विद्यार्थीको सबै खर्च अब जेसीज पदाधिकारीले बेहोर्ने छन् । जेसीजमा आबद्ध एक÷ एक जना व्यक्तिले एक÷एक जना विद्यार्थीको सबै खर्च बेहोर्ने बताइएको छ ।
बाह्रदशी जेसीजका उपाध्यक्ष राजु अधिकारीले आस्था वाचन गरेको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष चम्लगाई, उपाध्यक्ष खरेल, प्रमुख प्रशासकीय अधिकृत निरौला सहित शिक्षा शाखाका निमित्त प्रमुख योगराज पौडेल, पशुपति माध्यमिक विद्यालयका प्रधानाध्यापक थिर कुमार दाहाल, घोडामारा आधारभूत विद्यालयका प्रधानाध्यापक  कमल चम्लगाईल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
बाह्रदशी जेसीजका पूर्व अध्यक्ष लक्ष्मी प्रसाद उप्रेतीले उद्देश्यमाथि प्रकाश पारेको कार्यक्रममा बाह्रदशी जेसीजका कार्यकारिणी उपाध्यक्ष नवीन कुमार त्रितालले स्वागत गरेका थिए भने बाह्रदशी जेसीजकी कार्यकारिणी उपाध्यक्ष सदिच्छा खड्काको संयोजकत्वमा कार्यक्रम गरिएको थियो । उनले कार्यक्रममा सहभागीलाई धन्यवाद ज्ञापन गरेकी थिइन् । कार्यक्रमको सञ्चालन महासचिव सञ्जय साहले गरेका थिए ।
गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार बालबालिकालाई अभिभावकत्व ग्रहण गर्दै कक्षा १२ सम्म अध्ययन गर्दा लाग्ने  सम्पूर्ण खर्च बेहोर्ने गरी बाह्रदशी जेसीजले दिगो विकास कार्यक्रम अन्तरगत गत वर्षबाट यो कार्यक्रम सञ्चालन गरेको हो । 

सम्बन्धित समाचार