कचनकवल गाउँपालिकाले सार्वजनिक खरिद ऐन लत्त्याउँदै मसलन्द तथा कार्यालय सामग्री खरिद गर्दै
झापा । कचनकवल गाउँपालिकाले सार्वजनिक खरिद ऐन विपरीत मसलन्द तथा कार्यालय सामग्री आफुखुशी खरिद गर्ने गरेको पाइएको छ ।
सामान्य र कार्यालय सामग्रीको सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता बजारमा राख्ने सम्बन्धी मार्गदर्शन, २०७७ मा प्रदेश सरकार र स्थानीय तहहरु, सबै पदाधिकारीहरू र कर्मचारीहरूले समेत मार्गदर्शन बमोजिम मितव्ययी र प्रभावकारी तरिकाले खर्च गर्नुपर्ने उल्लेख छ । तर, कचनकवलले आर्थिक वर्ष ०७९/८० मा सामान्य र कार्यालय सामाग्री खर्च शीर्षकमा १९ लाख १ हजार ७५१ रुपैयाँ खर्च गरेको छ । कार्यालयलाई वर्षभरि आवश्यक पर्ने सामान एकमुस्ट विवरण बनाई सार्वजनिक खरिद ऐन र नियमावलीको प्रावधान बमोजिम खरिद योजना बनाई प्रतिस्पर्धात्मक तरिकाले खरिद गर्नुपर्नेमा पटक पटक बजारबाट खरिद गरी खर्च लेखेको महालेखा परीक्षक कार्यालयको अन्तिम लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।
सामानको आवश्यकता र परिमाण पहिलोदेखि निश्चित गरी प्रतिस्पर्धात्मक तरिकाले खरिद कारबाही अवलम्बन गर्नेतर्फ कार्यालयले ध्यान दिन आवश्यक छ । पटक पटक खरिद गर्ने परिपाटीमा नियन्त्रण गरी कानुनको पालना गर्दै खरिदलाई तीव्र र प्रतिस्पर्धी बनाउनुपर्ने प्रतिवेदनमा भनिएको छ ।