पत्रकारितामा एआई प्रभाव र प्रयोग विषयक प्रशिक्षण सम्पन्न
बिर्तामोड । सञ्चार क्षेत्रमा एआई प्रविधिको प्रयोग बढिरहेका बेला झापाको बिर्तामोडमा एक दिने पत्रकारितामा एआई प्रभाव र प्रयोग विषयक प्रशिक्षण सम्पन्न भएको छ ।
पूर्वाञ्चल राष्ट्रिय दैनिकको आयोजनामा भएको कार्यक्रममा नेपालमा एआई प्रविधिको प्रयोग तथा विश्वले पत्रकारिता क्षेत्रमा प्रयोगमा ल्याएको अवस्थाका विषयमा कार्यक्रमका प्रशिक्षक समेत रहेका सञ्चारविद् एवम् अटवा विश्वविद्यालय क्यानडाका प्राध्यापक डा. भानुभक्त आचार्यले जानकारी गराएका थिए ।
समाचार लेखन तथा विभिन्न खोजमूलक विषयमा एआई प्रविधि उपयोगी हुने भन्दै यसको सही सदुपयोग गरेमा पत्रकारिता क्षेत्रको विकासमा टेवा पुग्ने सहजकर्ता आचार्यले बताए । छिमेकी राष्ट्र भारत , चीन लगायत विकसित मुलुकले पत्रकारिता क्षेत्रमा एआई प्रविधिको सुरुवात गरे पनि नेपालमा यसको प्रयोग कमै मात्रामा हुने गरेको उनको भनाई छ ।
प्रविधिको प्रयोगसँगै अनलाइन पत्रकारिताले प्राथमिकता पाइरहेको समयमा एआई प्रविधि मार्फत यसलाई अझ सरल र सहज बनाउन सकिने सञ्चारविज्ञ आचार्यको भनाई छ । उनले एआई प्रविधिको प्रयोग प्रशिक्षण स्थलमा नै प्रशिक्षण गराएका थिए ।
इलाम र झापाका ४५ जना पत्रकारहरूको सहभागिता रहेको तालिममा सहभागीहरूका तर्फबाट पत्रकार गणेशमान मुखिया, रञ्जित प्रसाईँ, स्वस्तिका आचार्य, गणेश अर्याल, गृष्मा सापकोटा लगायतले आफ्नो अनुभवहरू बताएका थिए ।
पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रधान सम्पादक एकराज गिरीले गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष केशव भट्टराईले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन पूर्वाञ्चल दैनिकका सह सम्पादक सुरेन्द्र भण्डारीले गरेका थिए ।
बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा भएको कार्यक्रममा सहभागीहरूले एआई प्रविधिको प्रयोग र यसले पार्ने प्रभावका विषयमा जानकारी प्राप्त भएको र आगामी दिनमा आफूले सिकेको ज्ञानलाई प्रयोगमा ल्याउने जनाएका छन् ।