हल्दिबारीमा सहकारी तथा गरिबी व्यवस्थापन सम्बन्धी तालिम सुरु
हल्दिबारी । हल्दिबारीमा सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) सम्बन्धी तीन दिने तालिम सुरु भएको छ । सहकारी संस्थाहरूको सम्पूर्ण आर्थिक र व्यवस्थापकीय पक्षहरूको सम्पर्क सिस्टम मार्फत केन्द्रसँग जोडिने भएकोले संस्थाको आर्थिक पारदर्शिता कायम राख्ने उद्देश्यले तालिमको तालिमको आयोजना गरिएको सहकारी शाखा प्रमुख कविता कर्णले बताइन्।
हल्दिबारी गाउँपालिकाले पालिका भित्रका १५ वटा सहकारी संस्थाका व्यवस्थापक तथा कर्मचारीहरू सो तालिममा सहभागी गराएको छ । सहकारीका नियमन क्षेत्राधिकार, वित्तीय सुरक्षा लगायतका विषयमा प्रशिक्षक घनेन्द्र रिजालले सहजिकरण गरेका थिए।
कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङदेनले सहकारीको मूल मर्म भित्र रहेर कार्य गर्न सबैलाई आग्रह गरेका छन् । सहकारीले पैसा कमाउने मात्रै नभएर जनताको हितमा काम गर्नुपर्नेमा उनको भनाई छ । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्रले कतिपय सहकारी नियमसंगत नचल्दा सदस्यहरूले दुख पाइरहेकोले त्यस्तो अप्ठ्यारो परिस्थिति नआओस् भनेर तालिम आयोजना गरिएको बताए ।
कार्यक्रममा वडा १ का वडाध्यक्ष देवीबहादुर थापा, २ का वडाध्यक्ष शुकलाल राजवंशी र ४ का वडाध्यक्ष सन्तकुमार थापा लगायतको उपस्थिति रहेको थियो। हाल गाउँपालिकाभित्र पालिकाकै क्षेत्राधिकार भित्र २ वटा ज्येष्ठ नागरिक, ३ वटा महिलाहरूले मात्रै सञ्चालन गरेको र बाकी १० वटा पालिका बाहिरका सहकारी संस्थाहरू सञ्चालनमा रहेका छन्।