२०८३ असार ३ गते , बुधबार

वैदेशिक रोजगारीमा कमाएका सारा सम्पत्ति लिएर श्रीमती बेपत्ता, ताप्लेजुङबाट न्याय खोज्दै श्रीमान् झापामा

sajilo news
झापा
२०८१ जेष्ठ २१ गते , सोमबार
वैदेशिक रोजगारीमा कमाएका सारा सम्पत्ति लिएर श्रीमती बेपत्ता, ताप्लेजुङबाट न्याय खोज्दै श्रीमान् झापामा

ताप्लेजुङबाट न्याय माग्दै एक परिवार झापा आइपुगेको छ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ पेदाङ्गका ५४ वर्षीया आशाराज लिम्बू आफ्नी श्रीमती ४४ वर्षीया इन्द्रकला मावो (लिम्बू)ले गत बुधबार आफ्नो सारा सम्पत्ति लिएर सम्पर्कविहीन भएको भन्दै पीडित आशाराजसहित छोरा मेसेहाङ्ग, बहिनी कविता लगायत परिवार न्याय खोज्दै झापा आइ पुगेको हो । 

पाँचथरको थर्पुकी ४४ वर्षीया इन्द्रकला मावोसँग २०५९ सालमा मागी विवाह भएको आशाराजले बताए । परिवारको सुदूर भविष्य खोज्दै आशाराज वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका थिए । वैदेशिक रोजगारीमा कमाई राम्रै हुन थालेपछि आशाराजले श्रीमती इन्द्रकलालाई ब्युटी पार्लर खोली दिए ।

‘परिवार राम्रोसँग चल्दै थियो’, आषाराजका भने, ‘तर, परिवारमा केही समय अघिदेखि खटपट चल्यो । अलग–अलग बस्ने भनेर श्रीमतीले नै निवेदन दिएपछि जिल्ला अदालतले सम्बन्ध विच्छेद गरिदियो । फेरि त्यसको दुई हप्ता बित्न नपाउँदै श्रीमतीले नै हामीसँगै बस्ने भनेर सम्बन्ध विच्छेदको मुद्दा फिर्ता लिइन् ।”

गत बुधबार १७ वर्षीय छोरा मेसेहाङ्गको नागरिकता बनाउन गएका बेला श्रीमतीले घरमा भएको नगद र जिन्सी लिएर बेपत्ता भएको उनले बताए । “जग्गा बेचेको ३२ लाख नगद, झन्डै १५ तोला सुन र ८० तोला भन्दा बढी चाँदी लिएर झापाको शिवसतासी–८ डुडामारीमा शेर्मा थरका व्यक्तिसँग विवाह गरेर आएको थाहा पाएँ”, उनले भने ।

श्रीमतीले धनमाल लिएर परपुरुषसँग विवाह गरेपछि आशाराज न्यायको ढोका ढकढकाइरहेका छन् । आशाराजले सम्पत्ति फिर्ता दिलाइदिन अपिल गर्दै इलाका प्रहरी कार्यालय झिलझिलेमा फोटोसहित पनि निवेदन दिएका छन् ।

यता, इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख अनीश बुढाथोकीले काठमाडौँबाट इन्द्रकला मावो (लिम्बू) हराएको र सारा सम्पत्ति लिएर झिलझिले आसपासमा दोस्रो विवाह गरी आएकोले खोजी गरेर न्याय दिलाइदिनु हुन भनी निवेदन परेको बताए । उनले निवेदनको आधारमा खोजी कार्य भइरहेको समेत बताए । उनले निवेदन आउनासाथ पीडित परिवारलाई लिएर शङ्का गरेको घरमा जाँदा चाबी लगाएको फेला परेकाले खोजी गरिरहेको बताए । ‘यदि कसैले देखे भेटेमा नजिकैको प्रहरी कार्यालयलाई खबर गर्न समेत आग्रह गर्छु’, उनले भने ।

सम्बन्धित समाचार