गिरीबन्धु टी स्टेटले पारिश्रमिक नदिएपछि मजदुर भोक मेटाउन राहत संकलनमा
बिर्तामोड । गिरीबन्धु टी स्टेटमा कार्यरत चिया मजदुरले पारिश्रमिक नपाएपछि राहत संकलन सुरु गरेका छन् । चिया मजदुर सावित्रा पौडेलले आज बिर्तामोडको नयाँ बसपार्क क्षेत्रमा खाद्यान्न सहित राहत संकलन गरिएको जानकारी दिइन् ।
अढाई महिनादेखि काम गरेको पारिश्रमिक नपाएका मजदुरहरूले बाँच्नै कठिन भएपछि राहत संकलनमा लागेको पौडेलको भनाई छ । उनका अनुसार ४० जना मजदुर ब्यानरसहित राहत संकलनमा पुगेका थिए । बसपार्क क्षेत्रबाट उनीहरूले नगद र खाद्यान्न संकलन भएको जानकारी दिएका छन् । मजदुर नेतृ पौडेलले १५ हजार बराबरको संकलन गरिएको बताइन् ।
चिया टिपेर दैनिक जीवन चलाउँदै आएका मजदुरहरूले नियमित पारिश्रमिक नपाएको महिनौँ भइसक्यो । पछिल्लो पटक अढाई महिना अघिसम्मको ज्याला पाएका चिया मजदुरहरूले वृद्ध बुबा आमा र बालबच्चाको बिजोग भएपछि राहत संकलन गर्न बाध्य भएको चिया मजदुर नेता नारायण दर्जीले जानकारी दिए । उनका अनुसार मजदुरहरूले गत फागुन ३० गतेदेखि हालसम्म ज्याला पाएका छैनन् । ‘भोकै मर्नुपर्ने अवस्था आएकाले हात फैलाउन गएका हौँ’ दर्जीले भने ।
दुःख बिसाउन जाँदा भोक मेटाउने वातावरण बनेको मजदुरहरूको प्रतिक्रिया छ । करिब १५ हजारको राहत संकलन गरिएको पौडेलले भनिन्, 'अर्जुनधाराका मेयर बलदेवसिंह गोम्देनले पनि साँझमा चामल उपलब्ध गराउनु भयो ।' ९० परिवारलाई एक हप्ताको लागि खाद्यान्नको व्यवस्था भएको उनको भनाई छ ।
चिया बगान सञ्चालकहरूले आर्थिक मन्दीका कारण ज्याला दिन नसकेको प्रतिक्रिया दिदैं आएका छन् । ज्याला नदिएका कारण मजदुरहरू भोक भोकै बस्ने अवस्था आइलागेको छ । अहिले महिला चिया मजदुरहरू काममा समेत गइरहेका छैनन् भने पुरुषहरू मात्रै काममा भेटिने गरेका छन् । चिया मजदुरले दैनिक ५ सय ज्यालामा काम गर्दै आएका छन् ।