२०८३ असार ३ गते , बुधबार

दुई दशकदेखि बेपत्ता मोरङका शमशेर घर फर्किए, परिवारमा खुसीयाली

sajilo news
रासस
२०८१ जेष्ठ ४ गते , शुक्रबार
दुई दशकदेखि बेपत्ता मोरङका शमशेर घर फर्किए, परिवारमा खुसीयाली

मोरङ । दुई दशकदेखि बेपत्ता मोरङको बेलबारी नगरपालिका–११ का शमशेरबहादुर कटुवाल घर फर्किएका छन् ।  स्थानीय तहको सक्रियतामा उनलाई घर फर्काइएको हो । शमशेरबहादुर फर्किएपछि कटुवाल परिवारमा खुसीयाली छाएको छ ।

बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित वडा कार्यालयमा ६६ वर्षीय कटुवाललाई सोमबार स्थानीय तहका जनप्रतिनिधिले उनको परिवारको जिम्मा लगाएको छ । कटुवाल भोजपुरको जरायोटारबाट विसं २०६१ मा बेपत्ता भएका थिए । “श्रीमान् भेटिनुहुन्छ भन्ने कल्पना नै गरेकी थिइन, उहाँ जिउँदो हुनुहोला भन्ने आश मरिसकेको थियो”, शमशेरबहादुरकी श्रीमती सीताले भनिन् ।

शमशेरबहादुर र सीताको विसं २०५० मा विवाह भएको थियो । दुवै जनाबाट छ सन्तान जन्मिए । “कान्छो छोरो १० महिनाको हुँदा श्रीमान् बेपत्ता हुनुभयो, म एक्लैले छ सन्तान हुर्काएँ”, सीताले भनिन् । यसबिचमा परिवारको साथ नपाएपछि उनी माइतीको सहारामा झापाको केचना हुँदै हाल बेलबारीमा बस्दै आएकी छन् । 

शमशेरबहादुर बोल्न सक्दैनन् । उनी घाँटीको क्यान्सर रोगबाट पीडित छन् । आर्थिक अवस्था कमजोर भएकाले उनको उपचार के कसरी गर्ने भन्नेबारे कटुवाल परिवार चिन्तित छ । कटुवालको उपचार गराउन  सहयोग जुटाउन थालेको स्थानीय लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतमले बताए । 

बिरामी भएपछि कटुवाल सम्पर्कमा आएका हुन् । धेरै मेहनतपछि उनलाई घर फिर्ता ल्याउन सकिएको वडाध्यक्ष विक्रम राईले बताए । “कटुवाललाई क्यान्सरबाट मुक्त गर्न सहयोग जुटाउने काम भइरहेको छ”, उनले भने । 

सम्बन्धित समाचार