२०८३ असार ३ गते , बुधबार

सुकुम्बासी वस्तीमा बिर्तामोड नगरपालिकाको डोजर, गलत हर्कत नसच्याए प्रतिकारमा उत्रिने माओवादीको चेतावनी

sajilo news
झापा
२०८१ जेष्ठ १ गते , मंगलबार
सुकुम्बासी वस्तीमा बिर्तामोड नगरपालिकाको डोजर, गलत हर्कत नसच्याए प्रतिकारमा उत्रिने माओवादीको चेतावनी

बिर्तामोड । नेकपा (माओवादी केन्द्र) बिर्तामोडले सहमति, सहकार्य, कानुनी व्यवस्था र जनभावना विपरीत सामाजिक सद्भाव खलबल्याउने कुनै पनि गलत कार्य गरे कडा प्रतिकार गर्ने भएको छ । गलत हर्कतहरु नसच्याए पार्टीले कडा प्रतिकार गर्ने जनाएको छ ।

बिर्तामोड–७ स्थित सुन्दर निचाझोडा सामुदायिक वन स्थित पर्यटकीय स्थल तथा सहिद नेत्रपार्क पश्चिम देउनियाँ खोला काठे पुल उत्तर सुकुम्वासी बस्ती छेउमा दाहसंस्कार स्थल बनाउने विषयमा सहमति नजुटेपछि पार्टीका बिर्तामोड नगर कमिटीका पदाधिकारी तथा सदस्यमाथि जनप्रतिनिधिहरूले दुर्व्यवहार गरेकोप्रति पार्टी कडा प्रतिकार उत्रने जनाइएको छ । सामुदायिक वनको जग्गामा दाहसंस्कार स्थल बनाउने विषयमा वर्षैदेखि सहमति नजुटेको र स्थानीयबासीको समस्या बुझ्न गएका माओवादीका बिर्तामोड नगर सचिव गणेश कालिकोटे (सौगात), स्थानीय होम आचार्य, नन्दु उप्रेती, नरनाथ अधिकारीलगायत माथि धाकधम्की दिई अभद्र व्यवहार गरेको घटनाप्रति नेकपा (माओवादी केन्द्र) बिर्तामोड नगर कमिटीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ति जारी गर्दै जनाइएको छ ।

‘सो स्थानमा राज्यको समेत लगानीमा सुकुम्बासीहरुलाई घर बनाएको र बस्तीमा बसोबास बढ्दै गएको अवस्थामा सो स्थलमा घाट निर्माण गर्दा स्थानीयबासीलाई प्रत्यक्ष असर पर्ने देखिन्छ ।’ पार्टीका नगर अध्यक्ष मोहन सुब्बाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ‘स्थानीयहरूको दाहसंस्कारका निमित्त सोही स्थलबाट १ किलोमिटरको दुरीमा करोडौँको लगानीमा दाहसंस्कार स्थल निर्माण भइसकेको अवस्थामा अनावश्यक राजनीतिक प्रतिशोधको भावनाले बिर्तामोड नगर उप–प्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौला र वडाध्यक्ष कृष्णप्रसाद खरेलको नेतृत्वमा गत वैशाख २७ गते करिब दुई सय जनाको सङ्ख्यामा आएको अराजक भिडले स्थानीय बासिन्दा तथा सुकुम्बासीहरुसँग सहमति, सहकार्य नगरी उनीहरूको भावना विपरीत शक्ति प्रदर्शन गर्दै अन्धाधुन्ध शक्तिको आडमा डोजर चलाई आतङ्क मच्चाइएको थियो ।’

स्थानीयबासीको समस्या बुझ्न गएका पार्टीका नेता तथा कार्यकर्तामाथि उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले स्थानीय सुकुम्वासी महिलाहरूमाथि हातपात गरेको, कपोकल्पित भ्रामक प्रचारबाजी गरेको र पार्टीका नेता कार्यकर्तालाई दुःख दिने गरी गरेको गलत हर्कतप्रति नेकपा (माओवादी केन्द्र) बिर्तामोड नगर कमिटीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा छ ।

गत डिभिजन वन कार्यालय झापाको च.न. ५०७७ को पत्रअनुसार वनको जग्गामा कुनै भौतिक संरचना बनाउन नपाउने कानुनी व्यवस्था भएकोले वनले संरचना बनाउन रोक्का पत्रसमेत पठाइसकेको अवस्थामा नेपालको कानुन तथा वन ऐन उल्लङ्घन गर्दै निकट रहेको सुकुम्वासी बस्तीलाई तहसनहस पार्ने, विस्थापित गराउने, केही व्यक्तिको निहित स्वार्थको निमित्त राजनीतिक प्रतिशोध साधेको पार्टीको बुझाई छ । ‘भीडले संवादका लागि गएका पार्टीका नगर सचिव र स्थानीय बासिन्दाहरू माथि गरिएको दुर्व्यवहार, अराजनीतिक गैर जिम्मेवार गतिविधि, गलत हर्कत, कपोकल्पित भ्रामक समाचारको खण्डन गर्दै घोर निन्दा र भर्त्सना गर्दछौँ ।’ विज्ञप्तिमा भनिएको छ । 

सम्बन्धित समाचार