झापा गाउँपालिकाका ३४३ विद्यार्थीलाई साइकल बाँडियो

झापा गाउँपालिकाले ३४३ विद्यार्थीलाई साइकल वितरण गरेको छ । गाउँपालिकाले आइतबार पालिका भवनमा आयोजना गरेको एक कार्यक्रमबीच विद्यार्थीहरूलाई साइकल वितरण गरेको हो । कक्षा ९ मा अध्ययनरत डिल्लीराज माविका १३५, जनता माविका १३१ , जनकल्याण माविका ३५, कुवाडी माविका २८ र महेन्द्र माविका २४ विद्यार्थीलाई साइकल वितरण गरिएको थियो ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को शिक्षामा विनियोजन गरिएको बजेटमार्फत टेन्डर प्रक्रियाबाट २९ लाख रुपैयाँमा ३९४ साइकल खरिद गरिएको गाउँपालिका कार्यवाहक अध्यक्ष अन्जु देवी थपलियाले जानकारी दिइन् ।
शिक्षा शाखाको आयोजनामा भएको साइकल वितरण कार्यक्रममा बोल्दै कार्यवाहक अध्यक्ष थपलियाले कोही पनि विद्यार्थीले उच्च शिक्षाको लागि विद्यालय जानबाट वञ्चित नहोस् भनेर पालिकाका पाँच माध्यमिक विद्यालयका कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूलाई साइकल उपलब्ध गराएको बताइन् ।
शिक्षा, स्वास्थ्य जस्ता विषयलाई निरन्तरता दिने बताउँदै थपलियाले शिक्षामा सुधार ल्याउन कक्षा ८ देखी १० सम्मका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क कोचिङको समेत व्यवस्था गर्न लागेको बताइन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले शिक्षामा ३ करोड भन्दा बढी गाउँपालिकाले लगानी गरेको बताए । कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष सखीचन्द्र मण्डल, शिक्षा समिति सदस्य सुन्दरलाल गणेश, शिक्षक महासङका टीकाप्रसाद कट्टेल लगायतले मन्तव्य राखेका थिए । शिक्षा शाखा प्रमुख जीवन प्रसाद ढकालले स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको थिए ।
बहुसङ्ख्यक मुस्लिम, आदिवासी, विपन्न परिवारको बसोबास रहेको यस गाउँपालिकामा १२ कक्षामा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति समेत दिँदै आएको जनाइएको छ ।