मेची क्याम्पसमा ‘भद्रपुर मुनिसिपालिटी मोडल युनाइटेड नेशसन–२०२४’ सुरु
भद्रपुर । भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा नमुना संयुक्त राष्ट्र संघको अभ्यास कार्यक्रम (बीएमएमयूएन–२०२४) आजदेखि सुरु भएको छ । युवाहरूको नेतृत्व विकास टेवा पुर्याउने उद्देश्यले भद्रपुर युवा परिषद्को आयोजनामा ‘भद्रपुर मुनिसिपालिटी मोडल युनाइटेड नेशसन–२०२४’ सुरु भएको हो । कार्यक्रमको उद्घाटन नगर प्रमुख गणेश पोखरेलले गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पोखरेलले यस नमुना अभ्यासले अन्तर्राष्ट्रिय स्तरको शैक्षिक प्लेटफर्म भएकाले युवाहरूको नेतृत्व विकास, कूटनीतिक बहस, लेखन, बौद्धिक विश्लेषणजस्ता क्षमता अभिवृद्धिबारे सीप आदानप्रदानमा योगदान पुर्याउने बताए ।
जेठ २ गतेसम्म सञ्चालन हुने नमुना संयुक्त राष्ट्र संघको अभ्यास कार्यक्रममा १६ देखि २४ वर्ष उमेर समूहका नगरका १५० जना युवा सहभागी भएका छन् । जसमध्ये १३० जना कार्यक्रममा सहभागी भएका छन् भने २० जना स्वयंसेवक रहेका छन् । मेची बहुमुखी क्याम्पस, वीरेन्द्र मावि र अनलाइन आवेदनको माध्यमबाट सहभागी छनोट गरिएको हो । सबै कार्यक्रम अङ्ग्रेजी भाषामा हुने भएकाले सहभागी सोही अनुसार छनोट गरिएको परिषद्का सदस्य सचिव योगेन्द्र पौडेलले जानकारी दिए ।
युवालाई अन्तर्राष्ट्रिय कूटनीति र नेतृत्व विकास, संयुक्त राष्टसंघको कार्य, भूमिका, महासभाको अभ्यास गर्न, अन्तर्राष्ट्रिय सवालहरूमा पैरवी गर्न, दिगो विकास लक्ष्यबारे बहस गर्न, मानव अधिकार, सुरक्षा परिषद् लगायतका विषयमा प्रशिक्षित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नगर युवा परिषद् कार्यकारी अध्यक्ष सरोज ढकालले जानकारी दिए । उनले नगरमा रहेका करिब २९ हजार युवाहरूलाई क्रमशः यस प्रकारका कार्यक्रम गरी प्रशिक्षित गर्दै जाने बताए । उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, संयुक्त राष्ट्रसङ्घ विज्ञ डा. एकराज दाहाल लगायत विद्यार्थीहरूको सहभागिता रहेको थियो ।